काठमाडौं - स्थानीय निर्वाचनको मत परिणाम धमाधम आउन थालेको छ । अहिलेसम्म देशभरका १७ स्थानीय तहको निर्वाचनको मत परिणाम आइसकेको छ ।
जसमा कांग्रेसले सात र एमालेले ६ स्थानीय तहमा जित हात पारेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुई पालिका जितेका छन् ।
आइतबार बिहानसम्मको मतगणनाको नतिजाले स्थानीय तहमा पाँच वर्षअघिको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर हुने संकेत गरेको छ ।
०७४ को निर्वाचनबाट पहिलो शक्ति बनेको एमालेको बिरासत दोस्रो स्थानमा रहेको कांग्रेसले खोस्ने सम्भावना स्पष्ट संकेत देखिएको छ ।
मतगणना जारी रहेका स्थानीय तहमध्ये कांग्रेसले २६३ प्रमुख र २०८ उपप्रमुख, एमालेले १६७ प्रमुख र १७९ उपप्रमुख, माओवादीले १०१ प्रमुख र १२७ उपप्रमुख तथा जसपाले २३ प्रमुख र १९ उपप्रमुखमा अग्रता लिइरहेका छन् । त्यस्तै, एकीकृत समाजवादीको १० प्रमुख र १९ उपप्रमुख तथा लोसपाको ६ प्रमुख र ५ उपप्रमुखमा अग्रता छ ।
कतिपय पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । पाँचदलीय गठबन्धनबीच तालमेल भएकाले ६ महानगर र ११ उपमहानगरमा पनि एमालेले ०७४ को वर्चस्व बचाउन कठिन देखिएको छ ।
०७४ मा एमालले तीन महानगर र सात उपमहानगरमा जित निकालेको थियो । तर, प्रारम्भिक गणनाले एमालेका लागि सहज जित देखाएको छैन । एमालेले जितेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारले लिड गरिरहेका छन् ।
गत निर्वाचनमा कांग्रेस र एमालेले दुई दुई महानगरपालिका जितेका थिए । कांग्रेसले फेरि पनि दुईवटा महानगरपालिका जित्ने सम्भावना प्रबल छ । तर एमाले अझै भन्न सक्ने अवस्था छैन ।
स्थानीय निर्वाचनमार्फत राजनीतिक शक्ति सन्तुलन हेरफेर भए यसले आसन्न प्रदेश र संघीय निर्वाचनलाई समेत प्रभावित गर्नेछ । संघीय संसदमा अहिले एमाले पहिलो शक्ति छ ।
तर, पाँचदलीय गठबन्धनको सरकार रहेकाले एमाले संघ र सातै प्रदेशमा सरकारबाहिर छ । कांग्रेसले देशभरका सात सय ५३ स्थानीय तहमध्ये तीन सदयभन्दा बढी जित्ने प्रारम्भिक आकलन गरिएको छ ।
यदि कांग्रेसले तीन सय स्थानीय तह जितेमा पहिलो राजनीतिक शक्तिका रूपमा ‘कम ब्याक’ गर्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।