काठमाडौं - प्रमुख दलहरूले चितवनको भरतपुरलाई प्रतिष्ठाको विषय बनाएका छन् । अघिल्लो निर्वाचनमा पनि सात सय ५३ मध्ये भरतपुर महानगरपालिका मात्र सर्वाधिक चर्चामा थियो ।
यसपटक पनि त्यस्तै देखिएको छ । कांग्रेसबाट गठबन्धनका उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारका कारण चर्चामा रहेको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले आगामी वैशाख २२ गते चुनावी सभा गर्ने भएको छ।
सभामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले बताए। सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, अर्का नेता शेखर कोइरालालगायतले सम्बोधन गर्ने छन्। सभामा जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्नेछन्।
सभा भरतपुरको हाकिमचोकमा हुनेछ। गठबन्धनको आमसभालगत्तै एमालेले पनि भरतपुर महानगरपालिकामा चुनावी सभा गर्ने भएको छ ।
सभामा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने तय भएको छ । यसपटक कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल उठेकाले माओवादी केन्द्रबाट उठेकी रेणु दाहाल तनावमा परेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।