काठमाडौं - गत स्थानीय निर्वाचनमा एमालेबाट चुनाव जितेका दुई सय ९२ प्रमुख उपप्रमुखमध्ये थोरै मात्रै अन्य पार्टीमा लागेका छन् ।
तर, माओवादी र मधेसी दलबाट चुनाव जितेकामध्ये करिव दुई दर्जन मेयर एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी अस्ति सोमबार एमाले प्रवेश गरे र तर, भोलिपल्टै उनी पुनः माओवादी केन्द्रमा फर्केका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट एमालेमा प्रवेश गरेका छन् ।
रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए।
त्यस्तै, ओमसतियाका अध्यक्ष केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।माओवादीबाट विजयी पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ पनि एमाले प्रवेश गरेका छन् ।
यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव माओवादी परित्याग गरी एमाले प्रवेश गरेकी छन् । उनी पनि माओवादी त्यागेर एमालेतर्फ लागेकी हुन् ।
महोत्तरीको जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी मधेसी दल परित्याग गरी एमालेमा प्रवेश गरेकी छन् । महोत्तरीकै सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख पनि माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।
पर्साको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी मधेसी दल जसपा परित्याग गरी एमाले प्रवेश गरेका छन्। बाराको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्ताफा अन्सारी एमालेमा प्रवेश गरेका छन्।
माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिका प्रमुख दिलीप बगडिया र उपप्रमुख केशवकुमारी खराल एमाले प्रवेश गरेका छन् ।
आफ्ना भएभरका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष एमाले प्रवेश गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रातभरि निद्रा लाग्न छाडेको छ ।
प्रचण्ड अहिले विगतमा जुन पार्टीले जितेको थियो, त्यो ठाउँ सोही पार्टीलाई दिनुपर्ने भन्दै आएका छन् । तर, उनका पार्टीका जनप्रतिनिधि अर्को पार्टीमा प्रवेश गरेपछि ती पालिकामा के गर्ने भन्ने अन्योल छाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।