काठमाडौं - सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा अडानमा रहेपछि कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेको थियो ।
कांग्रेसले स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन दलबीच तालेमल गर्ने निर्णय गरेको थियो । यद्यपि कांग्रेसमा गठबन्धन गर्न नहुने भन्ने मत बलियो छ ।
तर, पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेपछि अब तालमेलको मोडालिटी बनाइन लागिएको हो । गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
३० वैशाखमा स्थानीय तहको निर्वाचन तय भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए ।
तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबार चितवनमा सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।
तर उनले भरतपुर महानगरपालिकामा आफ्नो दाबी रहने भन्दै पहिले नै कांग्रेसीलाई चिढ्याइसकेका छन् । उनले आफ्नी छोरीको राजनीति बचाउन भरतपुरको मेयरमा दाबी रहन्छ भनेको सबैले नबुझेका होइनन् । आजको बैठकमा ६ महानगर, ११ उपमहानगरमा कहाँ कसरी तालमेल गर्ने र कसलाई कुन स्थानीय तह छाड्ने भन्ने निर्णय गर्ने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।