काठमाडौं - अन्ततः एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै डरले आफूले संसद् विघटन गरेको स्वीकार गरेका छन् ।
तत्कालीन नेकपाका द्वितीय अध्यक्ष प्रचण्डले पार्टी नै कब्जा गर्न लागेको चाल पाएपछि आफूले संसद् विघटन गर्नुपरेको ओलीले प्रस्टीकरण दिएका छन् ।
बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय समितिको बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
ओलीको यो स्वीकारोक्तिले उनलाई प्रचण्डसँग कति धेरै डर रहेछ भन्ने पनि पुष्टि गर्छ । एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपामा ओली प्रथम र प्रचण्ड द्वितीय अध्यक्ष थिए ।
कार्यकारी अधिकार भने सबै ओलीले मात्र प्रयोग गर्दै आएका थिए । पार्टी एक भए पनि ओलीको स्वेच्छाचारिता निकै बढेको थियो ।
जसकारण नेकपामा तीव्र ध्रुवीकरण सुरु भयो । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत प्रभावशाली नेताहरूले प्रचण्डलाई साथ दिए ।
त्यसपछि सुरु भयो नेकपामा विवाद । विवाद बढ्दै जाँदा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभा नै विघटन गरिदिए । एकचोटि मात्र होइन दुई दुईपटक ।
पार्टीभित्रै यस्तो विवाद बढ्यो कि उनीहरूसँगै बस्नै नसक्ने अवस्था आयो । सर्वोच्च अदालतले पनि तत्कालीन नेकपालाई खारेज गरिदियो । त्यसपछि एमाले र माओवादी केन्द्र अलग अलग भए ।
माओवादीका थुप्रै नेता ओलीले आफ्नै साथमा राखे । उता एमाले पनि केही समयपछि विभाजन भयो । अहिले माधवकुमार नेपाल, झलनाथ खनाल एकातिर छन् ।
ओलीलगायत अरु अर्कोतिर छन् । वामदेव गौतमले एमाले नै परित्याग गरिसकेका छन् । हिजोसम्म एकढिक्का भएको कम्युनिस्ट पार्टी अहिले छिन्नभिन्न भएपछि ओलीले प्रचण्डको भयबारे स्वीकार गरेका छन् ।
प्रचण्ड कतिसम्म कुटिल र चतुर रहेछन् भन्ने ओलीले प्रधानमन्त्रीको कुर्सीबाट झरेको नौ महिनापछि मात्र चाल पाएका छन् ।
यदि नेकपा अहिले पनि हुन्थ्यो भने त्यो पार्टीबाट ओलीलाई प्रचण्ड र माधव नेपालले मिलेर निकालिसकेका हुने एमाले नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।