बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

स्थानीय तह निर्वाचनको संघारमा फेरि किन चल्याे वामपन्थी एकताकाे बहस ?

स्थानीय तह निर्वाचनको संघारमा फेरि किन चल्याे वामपन्थी एकताकाे बहस ?

  • मिडिया डबली
  • बुधवार, चैत्र ९ २०७८

  • 3.7K
    SHARES

  • स्थानीय तह निर्वाचनको संघारमा फेरि किन चल्याे वामपन्थी एकताकाे बहस ?

    काठमाडौं - वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो ।

    २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो । त्यतिबेला गठबन्धनलाई निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्राप्त भयो । यसपटक पनि स्थानीय तह निर्वाचनअघि वाम एकताको बहस चलेको छ ।

    तर, प्रमुख वामपन्थी दल एमाले र अन्य दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच राजनीतिक रूपमा भने शत्रुतापूर्ण सम्बन्ध छ । तैपनि यसबीचमा चलेको वाम एकताको बहसले सत्ता नेतृत्व दल नेपाली कांग्रेस तरंगित छ । मंगलबार विराटनगरमा नेता डा. शेखर कोइरालाले वामपन्थी दलहरू मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई भएको बताए ।

    ‘सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ । तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ,’ उनले भने । कोइराला वामपन्थी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका नेता हुन् । यसरी कांग्रेस तरंगित हुने गरी वाम एकताको बहस छेड्ने एमाले नेता घनश्याम भुसाल हुन् ।

    आइतबार पोलिटब्युरो बैठकमा उनले वाम एकता प्रक्रियाको नेतृत्व एमालेले लिनुपर्ने बताए ।मंगलबार पनि काठमाडौंमा पत्रकारहरूसँग उनले भने, ‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन । हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?’ उनका अनुसार वामपन्थी शक्तिहरूबीचको वर्तमान विभाजन कृत्रिम हो ।

    हुन पनि वामपन्थी दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘प्रवृत्तिगत’ मतभेद छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिनिधिसभा विघटनपछि ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्ने गरेका छन् ।

    ओलीले बलियो कम्युनिस्ट सरकारलाई ढालेर दक्षिणपन्थी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचना गर्ने गरेका छन् । यसरी वामपन्थी दलहरूमा प्रवृत्तिगत मतभेद मात्र छ ।

    वाम राजनीतिक विश्लेषक भीम भुर्तेल पनि भन्छन्, ‘एमाले-माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन नहोला भन्न सक्दिनँ । यिनीहरूमा प्रवृत्तिको बाहेक अन्य केहीको समस्या छैन । सैद्धान्तिक र वैचारिक पक्षमा समान बुझाइ छ ।’

    स्थानीय निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरूले माओवादी र एकीकृत समाजवादीलाई होच्याउने अभिव्यक्ति दिँदै पनि आएका छन् ।उपसभापति धनराज गुरुङले दुई दललाई भन्ने गरेका छन्, ‘कचौरे’ र ‘चमेरो’ जस्ता पार्टी ।

    महामन्त्री गगनकुमार थापाले गठबन्धनविरोधी अभिव्यक्ति दिँदै आएका छन् । यसप्रति प्रचण्ड र नेपाल रुष्ट छन् । वामपन्थी नेता वामदेव गौतम त अझ गत वर्षको चैतदेखि नै वाम एकताको पक्षमा छन् । उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन् ।

    समाजवादसम्मको राजनीतिक यात्राका लागि एकता आवश्यक रहेको उनको बुझाइ छ । तर, उनको अभियान प्रभावकारी भने छैन । गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपाको आधिकारिकता दिएपछि ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा स्वतः खारेजमा परेको थियो ।

    त्यसपछि कानुनी रूपमा दुई पार्टी अलग भएको हो । अलग हुँदाको राजनीतिक पृष्ठभूमि भने नेकपा हुँदा शक्ति बाँडफाँटलाई लिएर भएको तिक्तता र ओलीले ५ पुस २०७७ मा गरेको संसद् विघटन हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend