काठमाडौँ- तीन महिनाअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए– ‘अहिले नेताहरूको मानसम्मान घटेको छ । गाउँमा कोही नेता गयो भने कुन चाहिँ चोर आयो भन्छन्’ भनेका थिए ।
सोही कार्यक्रममा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै प्रतिवाद गरे । उनले नेताहरूको बदनाम गर्न खोजिएको भन्दै लिङ्देनको आलोचना गरे । तर, त्यसको तीन महिनापछि प्रचण्डले लिङ्देनले लगाएको आरोपको पुष्टि गरेका छन् ।
उनले नैतिक पतन देखिने र अदालतले नै चोर प्रमाणित गरेका गैरसांसदलाई मन्त्री बनाएका छन् । त्यसैले भन्ने गरिन्छ, नेताहरू जे भन्छन् त्यो गर्दैनन्, जे बोल्दैनन् त्यही गर्छन् ।
माओवादी केन्द्रले हुम्लाका कार्चेन लामा (छिरिङ दुमदुम लामा) लाई कर्णाली प्रदेशको मन्त्री बनाएको छ । लामा मूर्ति चोरी अभियोगमा फौजदारी मुद्दा खेपेका थिए।
चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा उनीसँगै छिरिङ पाल्दुम लामाले पनि सजाय पाएका थिए। झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो।
त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले उनीहरूलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
प्रचण्डले तिनै मूर्ति चोरलाई मन्त्री बनाएर नेताको बदनाम गराएका छन् । यो घटनाले माओवादीलाई मुखै देखाउन नहुने बनाइदिएको छ । यस्तै, एमालेका सांसद मोहन बानियाँ अहिले निकै चर्चामा छन् ।
मुगुका प्रतिनिधिसभा सदस्य बानियाँले एक शिक्षिकालाई पटक पटक बलात्कार गरेको आरोप लागेको छ । ती शिक्षिका र सांसद बानियाँबीच आर्थिक लेनदेन पनि रहेको आशंका गरिएको छ ।
ती शिक्षिकाले प्रहरी कार्यालयमा बानियाँविरुद्ध जबर्जस्ती करणीको उजुरी दिए पनि प्रहरीले अहिलेसम्म दर्ता गर्न मानेको छैन । यसबारे बानियाँले मुख खोलेका छैनन् ।
तर, आफूलाई खुब ठूलो कम्युनिस्ट नेता भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी ओलीलाई सार्वजनिक ठाउँमा अनुहार देखाउन नहुने अवस्था बानियाँले बनाइदिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।