काठमाडौं - नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएसँगै युवा नेता विश्वप्रकाश शर्माले पार्टीलाई नेतृत्व गर्नसक्ने सम्भावना देखाएका छन् ।
हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापासँगै शर्मा महामन्त्रीमा निर्वाचित हुन् । शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा सुन्दरीजलस्थिल बिपी कोइराला संग्रहालयबाट गरेका थिए ।

जहाँ बिपीलाई लामो समयसम्म जेलमा राखिएको थियो । उनै बिपी कोइरालालाई जेलमा राखेको माटोलाई छोएर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्मा महामन्त्रीमा निर्वाचित भएपछि सुन्दरीजल पुगेर बिपीलाई सम्झेका थिए ।

बिपीले देखेका सपना पूरा गर्ने कसम खाए । यस्तो अहिलेसम्म कांग्रेसका कुनै नेताले गरेका थिएनन् । त्यसपछि शर्मा नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगे ।

त्यहाँ पुगेर आफ्नो प्यानलमा राखेर महामन्त्रीमा उम्मेदवार बनाएकोमा आभार व्यक्त गरे । भोलिपल्ट शर्मा काभ्रेको बनेपा पुगे । जहाँ ०६२–६३ को जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थलाई सम्मान गरे ।
परिवारसँग आशीर्वाद मागे । जसले शर्माको राजनीतिक हाइट धेरै बढाएको देखिएको छ । त्यसअघि उनी माओवादी द्वन्द्ववबाट पीडित भएका घाइतेकहाँ पुगेर उनीहरूले देखेका सपना पूरा गर्ने अठोट लिए ।

भुइँमान्छेको सपना पूरा गर्ने कसम खाएकाले पनि विश्वप्रकाशले राज्यको आँखा नपुगेका र उपेक्षामा परेकालाई सम्झेका छन् । त्यसपछि शर्मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकहाँ पुगे । सिटौला सुरुदेखि नै शर्माका आलोचक हुन् ।
झापामा शर्मालाई अघि बढ्न नदिन सिटौलाले मुख्य भूमिका खेलेको आरोप लाग्दै आएको छ । शर्माले झापामा दुई दुई पटक आमनिर्वाचन हार्नुमा सिटौला समूहको असहयोग नै मुख्य कारक रहेको भन्ने गरिन्छ ।

तिनै सिटौलाले १४औं महाधिवेशनमा शर्मालाई महामन्त्रीमा आउन नदिन प्रदीप पौडेललाई महामन्त्रीमा उठाएका थिए । जसकारण संस्थापन पक्षबाट शर्मा महामन्त्रीको उम्मेदवार बन्नबाट वञ्चित भए । त्यसपछि शर्मा प्रकाशमान सिंहको प्यानलमा पुगे र निर्वाचन जितेर आए ।
तर, शर्माले त्यस्तो कुनै वैमनष्य राखेनन् । उनी सिटौलाकहाँ पुगेर आशर्वाद मागे । जसको अहिले चौतर्फी चर्चा भएको छ । शर्माले सोमबारदेखि पार्टीको प्रवक्ताबाट समेत राजीनामा दिने बताएका छन् ।
उनी १३औं महाधिवेशनपछि कांग्रेसको प्रवक्ता नियुक्त भएका थिए । यी सबै कारणले विश्वप्रकाश शर्माले कांग्रेसको नेतृत्व गर्नसक्ने सम्भावना देखाएको विश्लेषण सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।