काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।
सभापतिमा ५ प्रतिस्पर्धीबीच भिडन्त हुँदा देउवा र शेखर दोस्रो चरणको चुनावमा प्रवेश गरे भने उम्मेदवारहरू प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले बाहिरिए ।
दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले सभापति देउवालाई समर्थन गर्ने घोषणा गरे । सामान्य समर्थन मात्रै गरेका छैनन्, सक्रियतापूर्वक मतदातासँग भोट नै मागिरहेका छन् ।
मंगलवार भएको मतगणनामा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार अपराह्न सवा ३ बजेपछि दोस्रो चरणको मतदान भइरहेको छ ।
अहिले राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमान सिंह र बिमलेन्द्र निधिले देउवाका लागि भोट मागिरहेका छन् ।
तर अर्का उम्मेदवार डा. शेखर कोइरालालाई अन्तिम मौकामा आफ्नै कोइराला परिवारबाट धोका भएको छ । कोइराला परिवारकै सदस्य तथा स्व. गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालाले दाइ शेखरलाई धोका दिएकी छन् ।

पहिलो चरणको चुनावमै प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा चुनाव लडेकी सुजाता दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गर्न पुगिन् । प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेसँगै सुजाता पनि देउवाकै समर्थनमा लागेकी छन् ।
कोइराला परिवारका अर्का सदस्य कांग्रेस महामन्त्री डा. शशांक कोइराला समेत खुलेर शेखरको प्रचारप्रसारमा लागेका छैनन् । जसले गर्दा शेखरलाई कोइराला परिवार भित्रैबाट धोका भएको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।