काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा प्रतिस्पर्धामा देखिने छैनन् ।
महाधिवेशनको उदघाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो तर संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
शनिबार बिहान बोहोराटारस्थित आफ्नो निवासमा कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट पारे । भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थिति थिए ।
लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको साझा उम्मेदवारी दिने जनाएका थिए । तर, अन्तिम समयसम्म पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले ‘वाकओभर’ गरेका हुन् । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन् ।
उमेरले ८१ वर्ष लागेका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताएका थिए । ‘आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें । आजदेखि तपाईहरू आ–आफ्नो संरक्षण गर्नुहोस् । अब राजनीतिक प्रतिस्पर्धामा रहिनँ,’ उनले भने ।
१३औं महाधिवेशनमा उनी सभापतिका उम्मेदवार भएका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । तर, उनी दोस्रो चरणको मतदानमा पराजित भए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।