काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न शुक्रबार रातभर बसेको बैठक निष्कर्षविहीन बनेको छ ।
अब पौडेल पक्षले मनोनयन दर्ता गर्नुअघि शनिबार दिउँसो साझा उम्मेदवारबारे टुंगो लगाउने भएको छ ।
सभापति पदका आकांक्षी डा. शेखर कोइरालाले शनिबार बिहान १० बजेसम्ममा साझा उम्मेदवार तय हुने जानकारी दिए । पौडेल पक्षमा पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला सभापतिको उम्मेदवार बन्ने दौडमा रहेका छन् ।
संस्थापनइतर पक्षका ४ आकांक्षी नेताहरू भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनसत्रपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफलमा जुटेका हुन् तर अबेर रातिसम्म पनि कुनै सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन बनेको हो ।
कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि मंसिर २७ गते निर्वाचन हुने भएको छ तर संस्थापनइतर पक्षले हालसम्म पनि सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकिरहेको छैन ।
उम्मेदवारको मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने गरी निर्वाचन समितिले तोकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।