काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष निर्णायक मानिएको छ ।
सिटौला पक्षले जता समर्थन गर्यो, त्यतै चुनाव जितिने अवस्था रहेको बताइन्छ । यस्तो बेला सिटौला पक्ष कसको समर्थनमा जाला ? सर्वत्र चासो छ ।
महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता सिटौलाले आफूले प्रदीप पौडेल जस्ता युवालाई अघि बढाउने घोषणा गरिसके । प्रदीप पौडेल महामन्त्रीको उम्मेदवारका रूपमा चर्चामा छन् ।
सिटौला पक्षले प्रदीप पौडेललाई कुन पक्षमा लगेर उम्मेदवार बनाउँला र सभापतिमा कसलाई समर्थन गर्ला ? सिटौलाले जित्ने सुनिश्चित भएको पक्षमा लागेर प्रदीप पौडेललाई महामन्त्री बनाउने रणनीति लिएको स्रोतले जनाएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष यतिबेला सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार तय हुन नसकेपनि पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले तयारी गरिरहेका छन् ।
पौडेल नेतृत्वको संस्थापनइतर पक्ष आफैं विभाजित रहेको अवस्थामा सिटौलाले सभापति देउवा पक्षमा लागेर चुनावमा होमिने बताइन्छ । सभापति देउवाको प्यानलमा प्रदीप पौडेललाई महामन्त्री बनाउने सिटौलाको रणनीति रहेको स्रोतले बतायो ।
यसबारे औपचारिक निर्णय गर्न सिटौला पक्ष पार्टी महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक परामर्शमा जुटेको छ । सिटौलाले आफ्नो पक्षबाट उम्मेदवार हुनेहरूको सूची तयार पारेर सभापति देउवासँग अन्तिम कुराकानी गर्ने तयारी गरेका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।