काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष निर्णायक मानिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्तरिक तयारी गरिरहेका बेला महाधिवेशनमा सिटौला निर्णायक छन् ।
नेता सिटौला पक्षले कसलाई सघाउँछ वा आफ्नै छुट्टै प्यानल खडा गर्छ भनेर सर्वत्र चासो छ । सिटौला पक्षले पहिलो चरणमा आफ्नै प्यानल बनाउने र कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएमा त्यतिबेलै निर्णय लिने तयारी गरेको स्रोतले जनाएको छ ।
सिटौलाले आफ्नो पक्षको रणनीति बनाउन आज बिहीबार दिउँसो बैठक बोलाएका छन् । दिउँसो ३ बजे गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा बस्ने बैठकले प्यानल घोषणा गर्ने नेता बलदेव तिमिल्सिनाले जानकारी दिए ।
बैठकमा सिटौला पक्षका देशभरका नेता–कार्यकर्ता सहभागी हुने भएका जनाइएको छ ।
यसअघि बुधवार सिटौला निवासमा बसेको बैठकले सभापतिमा आफैं उठ्ने वा कुनै समूहलाई सघाउनेबारे निर्णय गर्ने अधिकार सिटौलालाई नै दिने निर्णय गरेको हो ।
बुधवारै वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलालाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनी पक्षका अधिकांश नेताहरू सभापतिमा देउवालाई सघाउनुपर्ने पक्षमा देखिएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।