काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसकोे १४औं महाधिवेश भोलि शुक्रवारबाट राजधानीमा सुरू हुँदैछ ।
कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेस भित्रको संस्थापन र इतर दुवै पक्षलाई हम्मेहम्मे परेको छ ।
संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।
तर संस्थापन र इतर दुवै तर्फको बैठक उम्मेदवारबारे कुनै टुंगो नै नलगाई विना निष्कर्ष सकिएको छ । संस्थापन पक्षको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरुको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दावी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति खोज्ने प्रयास भएको थियो ।
संस्थापन पक्षको बैठकले पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुलाई जिम्मा दिएको सहमहामन्त्रीको उम्मेदवार दाबी गर्दै आएका नेता मीन विश्वकर्माले बताए ।
संस्थापन पक्षले सुदूरपश्चिममा एनपी साउँद, कर्णाली पूर्णबहादुर खड्का, लुम्बिनीमा बालकृष्ण खाँण, गण्डकीमा गोपालमान श्रेष्ठ, बागमतीमा प्रकाशशरण महत, २ नम्बर प्रदेशमा रमेश रिजाल र १ नम्बर प्रदेशमा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिएको छ ।
यसैबीच संस्थापनइतर पक्षको बैठकमा सहमतिको अवस्था नबनेपछि वरिष्ठ नेता पौडेलले भने पार्टीलाई कमजोर बनाएर आफू हेरेर बस्न नसक्ने भन्दै बैठकमै आक्रोश व्यक्त गरेका छन् ।
पौडेलले सिंह र कोइराला दुवैलाई ‘कि मिल्नुस् कि छाड्नुस्’ भन्दै पटक–पटक आग्रह गरेको बैठकमा सहभागी नेता अर्जुन नरसिंह केसीले बताए । ‘प्रकाशजी र शेखरजी दुबै नेतालाई हामी सबैले पार्टीभित्रको सुधारवादी आन्दोलन कमजोर नहोस् भनेर पटक–पटक मिल्नका लागि आग्रह गर्यौं तर उहाँहरु सहमति खोज्न तयार हुनुभएन,’ नेता केसीले भने ।
सहमतिको वातावरण बन्नेभन्दा बिग्रनेतर्फ अघि बढेपछि वरिष्ठ नेता पौडेलले ‘त्यसो भए म राजनीति छाड्छु, तपाईंहरु चलाउनुस्, म घरमा बस्छु’ भन्दै झोक्किएको एक नेताले बताए । सभापतिका अर्का आकांक्षी रहेका महामन्त्री डा. शशांक कोइराला ब्याक भइसकेका छन् ।
शशांकले पौडेललाई समर्थन दिएका छन् । पौडेल पनि दुबै नेतालाई मिलाएर आफू अघि बढ्न प्रयासरत छन् । म्ंगलवार समेत सिंह निवास चाक्सीबारीमा ५ घण्टा इतर पक्षको बैठक बसेको थियो ।
बुधवार बिहानसमेत बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्डमा सहमतिको लामो प्रयास भएको थियो । सहमतिका लागि बिहीवार पुनः बैठक बस्ने बताइएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।