काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ ।
महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरु शीर्ष नेताहरुको समर्थन खोज्न दौडधूपमा लागेका छन् ।
दौडधूप गर्दै बुधवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको चण्डोलस्थित निवासमा पुगेका छन् । पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
भेटमा सहभागी सिटौलानिकट नेता प्रदीप पौडेलका अनुसार पौडेलले सिटौलालाई आफू सर्वसम्मत रुपमा संस्थापनइतर पक्षबाट सभापति बन्ने प्रयासमा रहेको भन्दै सघाउन आग्रह गरेका छन् ।
‘रामचन्द्र दाइले म सर्वसम्मत हुन्छु, मलाई सघाउनुस् भनेर भन्नुभयो तर सिटौला दाइले छलफल गर्छु, अहिले नै केही निर्णय छैन भन्ने जवाफ दिनुभयो,’ भेटवार्ताबारे जानकारी दिँदै पौडेलले भने ।
वरिष्ठ नेता पौडेल र सिटौलाबीच करीब आधा घण्टा महाधिवेशन केन्द्रित छलफल भएको सिटौलाका सहयोगी किरण सिटौलाले बताए । वरिष्ठ नेता पौडेललाई कांग्रेस महामन्त्री डा. शशांक कोइराला समेतले समर्थन दिएका छन् तर इतर पक्षबाटै पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अडान नछाड्दा संस्थापनइतर पक्षले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन ।
सिटौलाले भने यसअघि नै आफू टीमसहित महाधिवेशनमा अघि बढ्ने घोषणा गरिसकेका छन् । सिटौलाले थप निर्णय भने गरिसकेका छैनन् । उम्मेदवार तय नहुँदा इतर पक्षबाट पौडेल आफैं सभापतिको साझा उम्मेदवार बन्ने गरी अघि बढेका छन् ।
‘कि तपाईंहरू मिल्नुस् कि म सबैलाई मिलाउने गरी अघि बढ्छु भन्ने रामचन्द्र दाइको प्रष्ट भनाइ छ, महामन्त्रीजीले अडान छाडेर वरिष्ठ नेता पौडेललाई सहयोग गर्ने निर्णय गरिसक्नुभएको छ,’ संस्थापन इतर पक्षका एक नेताले भने ।
यसैबीच, नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधवार ४ हजार ३१९ जना महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली प्रकाशित गरेको छ ।
प्रकाशित सूचीमा सातै प्रदेशका ७६ जिल्लाका प्रतिनिधिको नाम उल्लेख छ तर २ नम्बर प्रदेशका सर्लाही जिल्लाबाट भने नामावली केन्द्रीय निर्वाचन समितिमा नआएका कारण राखिएको छैन । महोत्तरीको ३ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिहरुको नाम समेत सार्वजनिक हुन बाँकी रहेको छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सर्लाहीका चारै क्षेत्र र महोत्तरीको ३ नम्बर क्षेत्रको प्रतिनिधिको सूची पनि शुक्रवारसम्म सार्वजनिक गरिने बताएका छन् ।
प्रकाशित सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको नाम समावेश गरिएको छैन ।
कांग्रेसले १४औं महाधिवेशनमा देश तथा विदेश एवं भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबाट र मनोनित हुने गरी ४ हजार ६०० बढी प्रतिनिधि सहभागी हुने बताउँदै आएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।