काठमाडौं – नेपाली कांग्रेसको राजनीतिमा विभिन्न अवसर मुखैमा आएर पनि छुट्ने गरेका नेतामा पर्छन् रामचन्द्र पौडेल । प्रधानमन्त्री बन्न संसदमा भएको चुनावमा उनी १७ पटक पराजित भएको इतिहास छ ।
राजनीतिक जीवनको उत्तराद्र्धमा रहेका नेता पौडेल अन्तिमपटक १४औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्न चाहन्छन् । सभापतिको उम्मेदवार भएर मात्रै हुँदैन, उनी जित्ने गरी उम्मेदवार हुन चाहन्छन् । जसका लागि संस्थापनइतर समूहबाट साझा उम्मेदवार बन्ने पौडेलको चाहना छ ।
संस्थापनइतर समूहबाट सभापतिका आकांक्षीमा पौडेल, नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला आकांक्षी देखिएका छन् । आफ्नो समूहबाट साझा उम्मेदवार बन्न पौडेलले दौडधूप गरिरहेका छन् । मंगलबार र बुधबार भएका छलफलमा सहमति जुट्न नसकेपछि पौडेलले झोक्किएर आफू राजनीतिबाटै सन्यास लिने अभिव्यक्ति दिएका छन् ।
भोलि बिहीबार बिहान ८ बजे अनुपम फूडल्यान्डमा बैठक डाँकिएको छ तर प्रकाशमान सिंहले अडान नछाड्ने देखिएपछि पौडेलको अन्तिम इच्छामा बाधा पुग्ने देखिएको छ । प्रकाशमानले आफू गणेशमान सिंहको पुत्र भएकाले सभापति पदमा उम्मेदवारी दिएरै छाड्ने अडान लिएको नेताहरू बताउँछन् ।
कांग्रेसका संस्थापक बीपी कोइरालापुत्र तथा महामन्त्री डा. शशांक कोइरालाले भने वरिष्ठ नेता पौडेललाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । पौडेल उम्मेदवार बन्ने नै भए आफू पनि लचक हुनसक्ने डा. शेखर कोइरालाले संकेत गरेको स्रोतले जनाएको छ तर प्रकाशमानले भने आफू नै उम्मेदवार बन्ने अडान लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।