काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापति बन्ने सपना देखिरहेका उपसभापति बिमलेन्द्र निधिलाई आश गरेको क्षेत्रमै धक्का लागेको छ ।
उपसभापति निधिले २ नम्बर प्रदेश अर्थात् मधेश क्षेत्रमा आफ्नो प्रभाव देखाउने आश गरेका थिए । तर त्यहाँ सभापति शेरबहादुर देउवा पक्षले नै कब्जा गरेको देखिँदैछ ।
पर्सा जिल्लामा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा देउवा पक्षको वर्चस्व रहेको छ । जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले ४ निर्वाचन क्षेत्र रहेको पर्सामा २ पदेन सदस्यसहित १०४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका जानकारी दिए ।
कूल १०४ निर्वाचितमध्ये २० महाधिवेशन प्रतिनिधि मात्रै संस्थापनइतर पक्षका रहेका छन् । पर्सा जिल्लामा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा संस्थापन प्क्षका ८४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
पर्सा जिल्लाको ४ नम्बर क्षेत्रमा केन्द्रीय सदस्य रमेश रिजालको पहलमा सर्वसम्मत क्षेत्रीय सभापतिसहित २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । अन्य ३ वटा निर्वाचन क्षेत्रमा बुधवार निर्वाचन भएको जनाइएको छ ।
निर्वाचनमा ४ जना क्षेत्रीय सभापतिमध्ये १ जना मात्र संस्थापनइतर पक्षबाट निर्वाचित भएका छन् । १ नम्बर क्षेत्रका क्षेत्रीय सभापति अरविन्द गुप्ता संस्थापनइतर पक्षका रहेका छन् । तैपनि उनले आफू नेपाली कांग्रेसको पक्ष रहेको बताउँदै कुनै पक्षमा खुल्न चाहेनन् ।
२ नम्बर क्षेत्रमा मो. सहाबुद्दिन, ३ नम्बरमा श्रीकृष्ण चौहान र ४ नम्बरमा श्रीकान्त यादव सभापति पदमा विजयी भएका छन् । सहाबुद्दिन, चौहान र यादव संस्थापन पक्षबाट निर्वाचित भएका छन् ।
पूर्व सांसद राजेन्द्रबहादुर अमात्य महाधिवेशन प्रतिनिधि पदमा चुनाव हारेका छन् । केन्द्रीय निर्वाचन समितिले पर्साको पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गरिने जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।