काठमाडौं – यतिबेला सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विभिन्न अधिवेशन भइरहेका छन् । कांग्रेसका क्रियाशील सदस्यहरूले अधिवेशनमा भाग लिइरहेका छन् ।
यस्तो बेला अर्कै पार्टीका सांसद कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएको खबर सुन्दा पत्यार लाग्दैन तर यो अनौठो कुरा रसुवामा देखिएको छ ।
बागमती प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रहेका रसुवाका प्रेमबहादुर तामाङ कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जसपा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेको पार्टी हो ।
जसपा सांसद तामाङ कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएको कुरा औपचारिक घोषणा कतै भएको छैन तर भित्रभित्रै अर्कै खिचडी पाकिरहेको छ । तामाङले यसबारे प्रतिक्रिया दिन चाहेनन् । कांग्रेसमा प्रवेश गरेको औपचारिक घोषणा हुँदा उनलाई पार्टीले कारवाही गर्ने र सांसद पद गुम्ने भएकाले खुलस्त नपारिएको स्रोतले जनाएको छ ।
जिल्ला सदरमुकाम धुन्चेस्थित एक हलमा भएको महाधिवेशन प्रतिनिधिको निर्वाचन परिणाम घोषणामा मुख्य निर्वाचन अधिकृत शर्मिला थापाले प्रेम तामाङको नाम लिएपनि उनी प्रमाणपत्र बुझ्न स्वयं गएनन् । तामाङको जीतबारे केही शीर्ष नेतालाई मात्रै जानकारी दिइएको तर तल्लो तहका कार्यकर्ताबाट लुकाउन खोजिएको छ ।
यसैबीच रसुवा कांग्रेसबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले प्रेम तामाङ कांग्रेस पार्टी प्रवेश गरिसकेका र पार्टीको महासमिति सदस्य बनेका जानकारी दिए । कांग्रेसले आगामी निर्वाचनमा रसुवाबाट प्रेम र प्रभातलाई नै चुनाव लडाउने तयारी गरेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।