काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला कार्यसमितिको चुनाव हुने भएको छ ।
चुनावअघि चर्चित युवा नेता गगनकुमार थापाले काठमाडौंका कार्यकर्तासामु केही तर्क राखेका छन् । थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको जनाएका छन् ।
आज शनिबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको सभापति पदका उम्मेदवार कृष्ण बानियाँ ‘सबुज’ पक्षको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको जनाएका छन् ।
‘नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको छ, त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको छ,’ उनले भने, ‘हामी कोही–केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ । आमनागरिकको बीचमा गयो भने ठूलो निराशा छ । चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन । हामी सबै भन्छौं – कांग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव तर चुनाव जितेपछि के ? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होइन, नागरिकलाई एउटा भरोसा चाहिएको छ ।’
पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बीचमा एकता र समझदारी हुनु आवश्यक रहेको उनले बताएका छन् ।
कार्यक्रममा कांग्रेस काठमाडौंको जिल्ला कार्यसमितिमा सभापति कृष्ण बानियाँ ‘सबुज’, उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र ईन्द्रबहादुर थापा लगायतको उम्मेदवारी घोषणा गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।