काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापाको जिल्ला अधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा पक्षका नेताहरूबीच सभापति पदमा टक्कर हुने भएको छ ।
नेता सिटौला र प्रवक्ता शर्माबीच केन्द्रभन्दा भिन्नै रूपले झापामा प्रतिस्पर्धा हुन लागेको छ । दुबै नेताले पार्टीको जिल्ला नेतृत्वका लागि आफू निकटका उम्मेदवारलाई मैदानमा उतारेका छन् ।
नेता सिटौला पक्षबाट पूर्व उपसभापति देउकुमार थेवे जिल्ला सभापति पदमा भिड्ने भएका छन् भने प्रवक्ता शर्मा पक्षबाट उपसभापति राम कट्टेल सभापति पदका लागि प्रतिस्पर्धामा रहेका छन् ।
थेवे १३औं महाधिवेशनका क्रममा नै झापा जिल्लाको सभापतिका आकांक्षी रहेका थिए । त्यतिबेला सिटौलाले १४औं महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएर बसाएका थिए । आफूले गरेको वाचाअनुसार सिटौलाले थेवेलाई उम्मेदवारमा अगाडि बढाएका छन् ।
झापामा अधिकांश नेताको साथ थेवेलाई रहेको चर्चा छ । मनोनित केन्द्रीय सदस्य सुधीर शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, बहालवाला सभापति उद्धव थापा समेत थेवेको पक्षमा रहेका छन् । थेवेले गत महाधिवेशनमा थापालाई जिल्ला सभापति बनाउन सहयोग गरेका थिए ।
थेवे २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापाको ४ नम्बर निर्वाचन क्षेत्रमा पराजित भएका हुन् ।
सिटौला पक्षबाट केशवराज पाण्डे र शेरबहादुर भट्टराई उपसभापति पदमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । थेवेको प्यानलबाट सचिवमा कृष्ण हुमागाईं र नविन बिमली लड्ने भएका छन् ।
सभापतिका अर्का उम्मेदवार कट्टेललाई जिल्ला सचिव ताराविर कटुवालसहित झापाका नेताहरू लोकराज ढकाल, प्रेम सम्वाहाङ्फे, उषा गुरुङ लगायतको साथ रहेको छ । जिल्ला सभापतिका उम्मेदवार कट्टेलको प्रचारप्रसारका लागि प्रवक्ता शर्माले नै सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
झापा जिल्लाको आन्तरिक राजनीतिमा सिटौला र शर्मा दुबै प्रभावशाली मानिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।