आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेलको गुट फुट्यो, शेरबहादुर देउवालाई सिधै फाइदा !

रामचन्द्र पौडेलको गुट फुट्यो, शेरबहादुर देउवालाई सिधै फाइदा !

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 3.3K
    SHARES

  • रामचन्द्र पौडेलको गुट फुट्यो, शेरबहादुर देउवालाई सिधै फाइदा !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला महामन्त्री डा. शशांक कोइरालाले मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

    महामन्त्री डा. कोइरालाको घोषणाले कांग्रेसको संस्थापनइतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको गुटलाई झस्काएको छ ।

    कांग्रेसको संस्थापनइतर गुटमा सभापतिको साझा उम्मेदवारको खोजी हुँदै थियो । कोइराला पनि सोही गुटमा छन् । शशांकको घोषणासँगै साझा उम्मेदवार बन्ने सम्भावना समेत टरेको छ ।

    संस्थापनइतर समूहबाट मात्रै कांग्रेस सभापतिका लागि झण्डै आधा दर्जन आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री डा. कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिका दाबेदार रहेका छन् ।

    यी नेताहरुको दाबेदारी सभापति पदमा हुँदै गर्दा बुधवार संखुवासभा पुगेर महामन्त्री डा. कोइरालाले आफू पनि उठ्ने बताएका छन् ।

    ‘म महामन्त्री छु, अब सभापतिमा उठ्छु, म स्वाभाविक उम्मेदवार हो, म बलियो उम्मेदवार पनि हो,’ महामन्त्री डा. कोइरालाले भने ।

    केही दिनअघि उनले संस्थापनइतर गुट सभापति शेरबहादुर देउवाविरुद्ध एक नभए फेरि पनि उनलाई सभापतिबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । त्यसबखत उनले देउवालाई पार्टी जिम्मा लगाए हुने समेत बताएका थिए ।

    पौडेल गुटमा रहेका महामन्त्री कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ हुन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा रहेको छ ।

    कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ‘ब्याक’ हुनसक्ने समेत संकेत गरेका थिए । ‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ । सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई तानेर एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ,’ भिडियोमा उनले भनेका छन्, ‘अर्को प्रकाशमान, भन्दाखेरि मलाई नराम्रो लाग्छ तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ, बाहिर निस्केपछि प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरुले, हुन त उहाँ महामन्त्री हुनुभयो, त्यो अलग पाटो हो तर उहाँमा जुन आत्मीयता छ साथीहरूसँग त्यो म देख्दिनँ ।’

    त्यसपछि महामन्त्री कोइरालाले दाजु शेखरप्रति आफ्नो भनाइ मोड्दै भनेका छन्, ‘चौथो हो, शेखर दाइ, शेखर दाइ पनि लागिराख्नुभएको छ, भिडिरहनुभएको छ, मैले भनिहालें, हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरुको भावना हो । त्यसलाई म कदर गर्छु र सम्मान गर्छु, शेखर दाइसँग कुरा हुन सकेको छैन । म जानेबित्तिकै उहाँसँग कुरा राख्छु । उहाँलाई सभापति हुन मन छ भने अरुलाई पनि कन्भिन्स गर्न सक्नुपर्‍यो । मलाई त गरिहाल्नुहुन्छ, मैले भनेको म बाधक हुदिनँ । बरु सबै मिलाउने काममा लाग्छु ।’

    शशांकको आशयले सिटौलालाई पनि आफ्नो गुटमा मिलाउने संकेत गरेको छ तर सिटौलाले भने १४औं महाधिवेशनमा आफू टीम बनाएरै लड्ने घोषणा गरिसकेका छन् । सिटौला यसपटक सिंगो टीमसहित महाधिवेशनमा भिड्ने तयारीमा रहेका छन् ।

    यसैबीच, सभापतिका आकांक्षी पूर्व महामन्त्री सिंहले महामन्त्री कोइरालाप्रति आक्रमक बनेका छन् । बुधवार विराटनगरमा पुगेका सिंहले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको टिप्पणी गरेका छन् ।

    पार्टी विभाजन हुँदा शेरबहादुर देउवा र एकतापछि गिरिजाप्रसाद कोइरालाको उपसभापति भएर काम गरेको बताउँदै सिंहले भने, ‘१२औं महाधिवेशनमा सभापति सुुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको हुँ, प्रकाशमानको रेकर्ड हेरे हुन्छ ।’

    सिंहले आफू ग्रासरुटबाट राजनीति गरेर आएको दाबी गर्दै शशांकलाई आफ्नो रेकडै हेरेर बोल्न चुनौती दिएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend