काठमाडौं – गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य बालकृष्ण खाणले नेपाली कांग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी रहेको बताएका छन् ।
बुधवार नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री खाँणले कांग्रेस सुदृढ र बलियो भयो भने जनताको हक, अधिकार स्थापित हुने र आमनागरिक सबल, सक्षम हुने बताए ।
पार्टीको प्रदेश अधिवेशनका लुम्बिनी प्रदेश संयोजकको समेत जिम्मेवारी पाएको नेता खाँणले भने, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको अभियानमा कसरी जनतालाइ जोड्ने, जनताको मन कसरी जित्ने भन्नेतिर सबैको ध्यान केन्द्रित हुनुपर्छ ।’
पार्टी महाधिवेशनले नेताहरूको चयन, पदाधिकारीको छनोट गर्ने मात्र नभई जनतालाई नयाँ जीवन प्रदान गर्ने, नयाँ रक्तसञ्चार, नयाँ आशा र भरोसा दिलाउन सबैको सार्थक भूमिका हुनुपर्ने बताए ।
फरक प्रसङ्गमा उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा ठूला–ठूला आन्दोलनहरू सम्पन्न भएका छन्, नेपाली कांग्रेसको अगुवाईमा संविधान सभाबाट संविधान निर्माण भएको हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थापन गर्न नेपाली कांग्रेसले अपूर्व भूमिका निर्वाह गरेको बताउँदै गृहमन्त्री खाँणले भने, ‘पहिलेको आमनिर्वाचनमा कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन सकेन । दुईतिहाइको कम्युनिस्ट गठबन्धनले बनेको सरकारले स्वतन्त्र न्यायपालिकामाथि धावा बोल्ने, संविधान च्यात्ने, राज्य व्यवस्था कब्जा पार्न खोज्ने खालका गतिविधिले नै समीकरण बदलिएको हो । त्यसैअनुरूप नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको हो ।’
मन्त्री खाँणले कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो प्राथमिकता नै जनताको सुरक्षा, हकअधिकार सुनिश्चित गर्ने रहेको बताए ।
हजारौं कार्यकर्ता उपस्थित रहेको कार्यक्रम जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।