काठमाडौं – शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा २०३६ सालमा नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी कांग्रेसमा पनि देउवाको उत्तराधिकारी बन्न चाहन्छन् ।
पार्टीको १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न सभापति देउवालाई निधिले पटक–पटक आग्रह गर्दै आएका छन् तर मंसिर २४ गतेदेखि काठमाडौंमा तोकिएको १४औं महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् ।
दुबैले सभापतिको प्रत्यासी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औं महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको भूमिका महत्त्वपूर्ण रहेको थियो । फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछिको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि नै हुन् निधि ।
झण्डै ३ दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलग–अलग बाटो रोजेका छन् । त्यति मात्र होइन, पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धाको तयारीमा जुटेका छन् दुबै जना ।
एकअर्काको सहयोग विना पार्टी सभापति हुन र टिकिराख्न कठिन हुने दुबै नेताले राम्रोसँग बुझेका छन् । पछिल्ला भेटमा दुबै नेताले एकआपसमा सहयोग माग्न छाडेका छैनन् । पछिल्लो डेढ वर्षमा भएका पटक–पटकका भेटमा देउवाले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न र १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व लिने गरी तयारी गर्न निधिलाई आग्रह गरेका छन् ।
तर निधि १३ औं महाधिवेशनमा भएको समझदारी र आफ्नो उमेरका कारण पनि आफू १५ औं महाधिवेशनमा सभापतिमा ‘सुट’ नहुने भन्दै यही महाधिवेशनमा उम्मेदवार बन्ने अडानमा रहेका छन् ।
जसले गर्दा अहिले देउवा–निधि सम्बन्ध औपचारिकतामा मात्र सीमित बनेको छ । औपचारिक बैठक र छलफलबाहेक गुटगत भेलामा सभापति देउवाले निधिलाई बोलाउन छाडेका छन्, बोलाए पनि निधि सहभागी हुन छाडेका छन् ।
जबकि देउवा सभापतिमा निर्वाचित भएपछिको केही समय गुटगत बैठक निधिले नै बोलाउँथे तर सोमवार १४ औं महाधिवेशनको रणनीति बनाउन देउवाले आफ्नो निवास बुढानिलकण्ठमा बोलाएको गुट भेलामा निधि सहभागी भएका छैनन् ।
देउवा खेमाबाट अलग्गिएका निधि आफ्नै टीम बनाएर सभापतिको प्रतिस्पर्धामा जुटेका छन् । सुरूमा सभापतिको प्रत्यासी बन्ने निधिको प्रस्तावलाई देउवा र उनी निकट नेताहरुले पद बार्गेनिङका रुपमा हेरेको बताउँदै एक नेताले भने, ‘२ नेतालाई एकै ठाउँमा उभ्याउन सकिन्छ कि भन्ने प्रयास त भइरहेको छ तर उहाँहरु (शेरबहादुर देउवा र विमलेन्द्र निधि) निकै अघि बढिसक्नुभएको देखिन्छ ।’
कुनै बाध्यात्मक परिस्थिति सिर्जना गर्नसकेबाहेक १४ औं महाधिवेशनमा देउवा र निधिले एकअर्कालाई सहयोग गर्ने सम्भावना टरेको दाबी गर्दै देउवा निकट एक नेताले भने, ‘राजनीतिमा सम्भावना नै छैन भन्ने त होइन तर अहिले चाहिँ सँगै अघि बढ्ने कुनै सकारात्मक संकेत देखिएको छैन ।’
देउवाले सोमवार आफू निकटहरुको भेला राखेर निधिबाहेक प्रदेशदेखि केन्द्रसम्मको टीम बनाउन विभिन्न नेतालाई जिम्मेवारी दिएका छन् । निधि समेत देउवासँग असन्तुष्टलाई समेटेर नयाँ टीम निर्माणमा जुटेका छन् ।
पार्टीका संस्थापक नेता बीपी कोइरालाको प्रस्तावमै नेपाल विद्यार्थी संघको जिम्मेवारीमा देउवा र निधि पुगेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि देउवा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला र निधि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई निकट रहेका थिए ।
संसदीय निर्वाचनपछि २०४८ सालमा गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संसद्मा पेश गरेको धन्यवाद प्रस्तावविरुद्ध पार्टीका ३६ सांसदले असहयोग गरेका थिए । त्यससँगै कांग्रेसभित्र उत्पन्न विवादमा देउवा कोइरालाको पक्षमा र निधि सहितका नेताहरु विपक्षमा उभिएका थिए तर कांग्रेसको पोखरा महाधिवेशनमा देउवा गिरिजाप्रसादविरुद्ध सभापतिमा उम्मेदवार बनेका थिए ।
त्यससँगै एउटै गुटमा बसेर देउवा र निधिले सहकार्य गर्दै आएका थिए । माओवादीविरुद्ध संकटकाल लगाउने/नलगाउने विषयमा विवाद हुँदा देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्दै पार्टी विभाजन गर्दा उनलाई निधिका साथै प्रकाशमान सिंह, मीनेन्द्र रिजाल सहितका नेताले साथ दिएका थिए ।
देउवासँग दूरी बढ्दै जाँदा सिंह र रिजाल सहितका नेताहरुले यसअघि नै उनको साथ छाडेका थिए । २ पार्टी एकीकरणसँगै १२ औं र १३ औं महाधिवेशनमा देउवा सभापतिको प्रत्यासी बन्दा निधि मुख्य सहयोगीका रुपमा देखिएका थिए ।
१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले निधिलाई उपसभापतिमा मनोनित गरेका थिए । संविधान सभाबाट संविधान जारी भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा निधिले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीसहित पार्टीको नेतृत्व गरेका थिए । देउवाको सहयोगमा निधिले यो जिम्मेवारी पाएका थिए ।
प्रचण्ड नेतृत्वको सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गर्ने विषयमा देउवा र निधिको मत बाझिएको थियो ।
त्यससँगै २ नेताबीचको सम्बन्धमा चिसोपना आएको दाबी गर्दै निकट एक नेताले भने, ‘सम्बन्ध सुधार गर्नभन्दा दूरी बढाएर आफ्नो स्वार्थ पूरा गर्न निकटहरु नै सक्रिय रहँदा अहिले उहाँहरु दुवै जना सभापतिमै प्रतिस्पर्धा गर्ने अवस्थामा पुग्नुभएको छ ।’
एकअर्काका कमजोरीलाई नजिकबाट नियालेका दुबै नेता त्यसमै टेकेर आ–आफ्नो आवश्यकता एकअर्कालाई महसूस गराउने रणनीतिमा रहेको विश्लेषण गर्दै ती नेताले थपे, ‘तर त्यो दुबैका लागि आत्मघाती हुन्छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।