काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको संघारमा युवा नेता तथा इलाम जिल्ला सभापतिका प्रत्यासी उम्मेदवार डम्बर खड्काले माइ नगरपालिका–९ र १० का नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्तालाई पार्टी परित्याग गराएर कांग्रेसमा प्रवेश गराएका छन् ।
कांग्रेस माइ नगरपालिका–१० का सभापति टेकबहादुर आलेको सभापतित्वमा शुक्रबार भएको कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश (२) का प्रदेश सभाका उम्मेदवार मनबहादुर बस्नेत, क्षेत्रीय सभापतिका प्रत्यासी पूर्व क्षेत्रीय सभापति भिष्म प्रधान, महाधिवेशन प्रतिनिधिका प्रत्यासी श्याम खड्गी नेपाली कांग्रेस माइ नगर सचिव दिवाकर सिंह लगायतले नवप्रवेशी डम्बर समाल, शेरबहादुर कटवाल, नरबहादुर कटवाल, पुष्प बानियाँ, अमृत राई लगायत दर्जनौं नवप्रवेशीलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।
नवप्रवेशीले अब देशको विकास र प्रजातन्त्रको रक्षा आमनागरिकको भविष्य नेपाली कांग्रेसबाट मात्र हुने विगत र वर्तमान अवस्थाले देखाएकाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।
नेपाली कांग्रेसको १४औं अधिवेशनको संघारमा जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका युवा नेता खड्काले केही दिनअघि पनि माइ नगरपालिका–१ लगायत माइजोगमाई गाँउपालिका–१ र ६ मा करीब ३०० कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका खड्काले विगत २ वर्षअघिदेखि करीब ३८०० जनालाई नेपाली कांग्रेसमा प्रवेश गराएको भन्दै अधिवेशनपछि पनि निरन्तर पार्टीका सदस्य थप्ने कार्यमा लागिरहने बताए ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत बनेका झलनाथ खनाललाई २५ वर्षसम्म जनताले जिताएर पठाएपनि विकास केही नभएको उनले बताए । ‘कम्युनिस्टहरू ढाँटको खेती मात्र गर्ने हुन्, काम त कांग्रेसले मात्र गर्नसक्छ,’ उनले भने ।

फरक प्रसङ्गमा पार्टी अधिवेशनबारे बोल्दै उनले जिल्लाभर अहोरात्र पार्टी संगठनमा क्रियाशील रहेका र तमाम क्षेत्रीय प्रतिनिधिहरू जिल्लाको नेतृत्व परिवर्तनको पक्षमा रहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताए ।
कार्यक्रममा क्षेत्रीय सभापतिका प्रत्यासी भिष्म प्रधान, श्याम खड्गी, मनबहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।