काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले पार्टी महाधिवेशनमा जस्तै नेता–कार्यकर्ता खटिएमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् ।
ओखलढुंगा जिल्लाको लिखु–५ मा बिहीवार पार्टीका नेता कार्यकर्तासँगको भेटघाटका क्रममा नेता खतिवडाले मिलेर जान सकेमा केपी ओली र प्रचण्ड मिलेर आए पनि कसैले हराउन नसक्ने बताएका छन् ।
‘महाधिवेशनको भोलिपल्ट पनि कांग्रेस बलियो हुनुपर्छ । महाधिवेशनमा खटिएझैं चुनावमा खट्ने हो भने कांग्रेसलाई हराउने तागत कसैको पनि छैन,’ खतिवडाले भने, ‘केपी ओली, प्रचण्ड मात्रै होइन, कुनै मनमोहन फेरि ब्युँझिएर आए पनि कांग्रेसलाई कसैले हराउन सक्दैन ।’
‘नेपाली कांग्रेसको नेतृत्वमा ओखलढुंगामा जिल्ला समन्वय समिति गठन गरेका छौं । ८ वटा स्थानीय तहमा जितेर पनि केन्द्र र प्रदेशमा चुनाव हार्ने अवस्थामा पुग्यौं,’ उनले भने, ‘यो अवस्थामा कांग्रेसको अधिवेशन सुरू भएको छ । हामी महाधिवेशनमा भोट माग्न मात्रै आएका छैनौं । कांग्रेस अब दह्रो बन्नुपर्छ, बलियो बन्नुपर्छ, एकताको कांग्रेस बन्नुपर्छ ।’
कांग्रेसले कांग्रेसलाई हराउने दिन सकिएका बताउँदै नेता खतिवडाले भने, ‘कांग्रेसले जित्नुपर्छ भनेर तपाईंहरूको घरमा आएका छौं । हामी सबै मिल्दा पनि हारेको ओलखढुंगालाई कांग्रेसको किल्ला बनाउने छौं । महाधिवेशनको भोलिपल्ट पनि कांग्रेस बलियो हुनुपर्छ । पार्टीका साथीहरुको आलोचना गर्ने पक्षमा छैन । भोलिका दिनमा हामी सबै मिलेर जानुपर्छ ।’
कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनले बताए । ‘पार्टीको आन्तरिक अधिवेशन हो, अधिकांश स्थानमा सर्वसम्मत गर्नुभएको छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । राम्रो नेतृत्व चयन गर्नुपर्छ । कांग्रेस कमजोर बनाउने अधिकार कसैलाई छैन,’ उनले भने ।
कांग्रेसका प्रतिनिधिहरुसँग युवा नेता खवितडाले आफ्नो पक्षको तर्फबाट सभापतिमा उम्मेदवार बनेका तेजेन्द्र खनाललाई भोट दिएर विजयी बनाउन आग्रह गरेका छन् । खतिवडाले खनाल पक्षका अन्य सबै उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका उनका स्वकीय सचिव हुकुम राईले बताएका छन् ।
कार्यक्रममा कांग्रेसका नेताहरु रुद्र अधिकारी, अशोक कार्की, हरि दाहाल, प्रकाश दाहाल, भीम गौतम, बेदबहादुर रोका, सोम तामाङ, तेजेन्द्र खनाल लगायतका नेताको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।