काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनको खर्च जुटाउन पार्टी सदस्यलाई १०० रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ ।
आज बुधवार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको एमाले १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यलाई १०० रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको छ ।
एमालेले राष्ट्रिय वाणिज्य बैंक टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खातामा रकम पठाउन आह्वान गरेको छ । खातामा सबै पार्टी सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।
एमालेले पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरेको बताएको थियो । प्रचार विभाग प्रमुख भट्टराईले एमालेसँग हाल करीब ७ लाख ३० हजार पार्टी सदस्य रहेका र सबैले कम्तीमा १०० रुपैयाँ दिए ७ करोड ३० लाख रुपैयाँ संकलन हुने बताए ।
बैठकले पार्टीको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना परिमार्जनसहित पारित गरेको छ । जसअनुसार मंसिर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपराह्न १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।
उद्घाटन कार्यक्रममा देशभरका पार्टीको शुभचिन्तक र समर्थकहरु सहभागी हुने एमालेले जानकारी दिएको छ ।
बैठकले कात्तिक ३० गतेभित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन समेत सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
महाधिवेशनमा देशभरका १ हजार ९९९ प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।