काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशभरका कांग्रेस कार्यकर्तालाई आह्वान गर्दै अमेरिकी अनुदानमा आधारित एमसीसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने जनाएका छन् ।
झापाको बिर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. महतले एमसीसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको बताए ।
डा. महतले भारत, चीन, कोरिया, जापान, युरोपियन युनियन लगायतबाट नेपाललाई बर्सेनि अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको बताउँदै अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताएका छन् ।
एमसीसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको डा. महतले स्पष्ट पारेका छन् । विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने उनले बताए ।
विदेशी सेना आउने, विदेशको कानून लागू हुने, सार्वभौमसत्ता संकटमा पर्ने जस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसीसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरूले आँट गर्नुपर्ने महतले बताए ।
उनले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानबारे खुलस्त रुपमा छलफल भएको बताएका छन् ।
सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा डा. महतले स्वतन्त्र न्याय क्षेत्र समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविक रुपमा निम्तिने बताएका छन् । उनले भने, ‘राज्यका सबै अंग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अंगको हस्तक्षेप अपरिहार्य हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।