काठमाडौं – नेकपा एमालेको अधिवेशन चलिरहेका बेला ललितपुर जिल्लामा नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रलाई धम्का दिन सफल भएको छ ।
नेकपा एमालेका लोकप्रिय नेता कृष्णबहादुर लामा र माओवादीका पूर्व इलाका कमाण्डर गोविन्द घलान सहितका १०० भन्दा बढी नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
कोञ्ज्योसोम गाउँपालिकामा सोमवार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र माओवादीका स्थानीय नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गरेका एमालेका नेता कृष्णबहादुर तामाङ २०५४ सालमा साविक नल्लु गाविसमा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका हुन् । गोविन्द घलान माओवादीका पूर्व ईलाका कमाण्डर रहेका छन् । बुद्धिराज लामा एमालेको कोञ्ज्योसोम गाउँपालिकाका कमिटीका सदस्य थिए ।
कांग्रेस प्रवेश गर्नेमा एमालेका युवा नेता विशाल लोप्चन, सिर्जना घलान, सलकुमार तामाङ, झलक बोम्जन, जयकुमार तामाङ लगायत १०० भन्दा धेरै नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कांग्रेसका युवा नेता तथा खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, ललितपुर जिल्लाका सभापति मदनबहादुर अमात्य, पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, नेता ऋषिराम घिमिरे लगायतले नवप्रवेशीलाई टीका र खाँदा लगाइदिएर कांग्रेसमा प्रवेश गराएका हुन् ।
कार्यक्रममा ललितपुर क्षेत्र नम्बर १ का सभापति राजन घिमिरे, जिल्ला सदस्य प्रभाकर पोखरेल, सानुकान्छा मोक्तान, बशिष्ठ अधिकारी, प्रदेश ‘१’का सभापति सुन्दरमान थिङ, प्रदेश ‘२’का सभापति रामकृष्ण लामा, कोञ्ज्योम गाउँपालिकाका नेता कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रमको उद्देश्यबारे कोञ्ज्योसोम गाउँपालिका–३ वडाध्यक्ष एवं कांग्रेसका नेता तिलक बोम्जन, वडा नम्बर ४ का वडाध्यक्ष एवं युवा नेता तीर्थबहादुर घलानले जानकारी दिएका थिए ।
कोञ्ज्योसोम गाउँपालिकाका कांग्रेस सभापति सरोज घलानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । एमाले र माओवादीभित्र बबण्डर भएका बेला ललितपुर जिल्लामा ती २ पार्टीभित्र पहिरो गएको हो । एमालेको अधिवेशन चलिरहेका बेला लोकप्रिय नेताहरुले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।