काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न खोजेका थिए जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तर सरकारलाई चुस्तदुरुस्त बनाउन र खर्च घटाउन प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने निर्णय लिए ।
देउवाको निर्णयले अध्यक्ष यादव असन्तुष्ट बने । उनले सरकार सुखभोग गर्न पाएनन् । मन्त्री बन्ने आशमा रहेका अध्यक्ष यादवको सपना तुहिएपछि उनी छटपटाइरहेका छन् ।
सत्तारुढ दल जसपाका प्रमुख नेता हुँदाहुँदै पनि उपेन्द्र यादव अब देउवा सरकार र कांग्रेस पार्टीविरुद्ध बोल्न थालेका छन्, अर्काेतिर देउवा सरकारमै जसपाका मन्त्री रहेका छन् ।
विगतमा सरकारमा हुँदा उपेन्द्र यादवले विलासिता देखाएको, अधिकांश समय विदेश भ्रमणमा बिताएको, जनताका लागि केही काम नगरेको र मधेशको नाममा सत्तास्वार्थ केन्द्रित भएको आरोप लाग्दै आएको छ ।
आज शनिवार जसपानिकट गैरभौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कांग्रेसविरुद्ध अप्रिय अभिव्यक्ति दिए । यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन रहेको बताए ।
‘बहुदल आएपछिका सबै विकृति फैलाउने दल कांग्रेस हो, कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको छ,’ उनले भने । अध्यक्ष यादव उपप्रधानमन्त्री बन्न पाएको भए कांग्रेस पार्टी गजब हुन्थ्यो तर उनी सरकारमा जान नपाउँदा कांग्रेसविरुद्ध बोलिरहेका छन् ।
उपप्रधानमन्त्री बन्ने आशमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन अध्यक्ष यादव सक्रिय भएका थिए । तर अहिले उपप्रधानमन्त्री बन्न नपाएपछि सरकारविरुद्ध बोलिरहेका छन् ।
सरकारले आफूलाई नसोधी सरकारी नियुक्तिका निर्णय गरिरहेकोप्रति समेत अध्यक्ष यादवले असन्तुष्टि जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।