काठमाडौं - नेपाली राजनीतिमा एउटा दुर्लभ संयोग देखिएको छ ।
सायद यस्तो संयोग यसअघि कहिल्यै देखिएको थिएन । तीन राजनीतिक दलको एउटै महिनामा केही दिनको बीचमा महाधिवेशन हुनुलाई अनौठो संयोग मानिएको हो ।
देशकै सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले तीन महिनाअघि नै मंसिरमा दशौं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । लगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले पनि मंसिरमै महाधिवेशनको मिति तोक्यो । अहिले राप्रपाले पनि मंसिरमै महाधिवेशन गर्ने कार्यतालिका निकालेको छ ।
कांग्रेसले सुरुमा मंसिर ९–१३ गते महाधिवेशन सम्पन्न गर्ने भनेको थियो । तर, अहिले मंसिर २४–२६ मा महाधिवेशन गर्ने पछिल्लो कार्यतालिका आएको छ । सबैभन्दा धेरैपटक महाधिवेशनको कार्यतालिका संशोधन गर्नेमा कांग्रेसले कीर्तिमान नै राखेको छ । कांग्रेसले सातौंपटक कार्यतालिका संशोधन गरेको हो । अझै पनि सर्ने हो कि भन्ने धेरैको आशंका छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अनुकूलतामा मात्र महाधिवेशन गर्ने रणनीति बनाएको पौडेल पक्षको आरोप छ । तर देउवा पक्ष भने निर्धारित मितिमै महाधिवेशन हुने बताउँदै आएको छ । देउवा दोस्रो कार्यकाल दोहोरिने मनस्थितिमा छन् ।
उता उमेरहदका कारण एमाले अध्यक्ष केपी ओली मंसिरमै महाधिवेशन गराउन तत्पर देखिएका छन् । एमाले महाधिवेशन मंसिर ९–१२ मा तोकिएको छ । सोही कारण फास्ट ट्रयाकमा उनी वडा र पालिका तहको अधिवेशन गराउन सफल भइसकेका छन् । केही जिल्लामा वडा र पालिकाको अधिवेशन हुन बाँकी भए पनि अब एमालेको क्षेत्रीय र जिल्ला अधिवेशन हुँदैछ ।
एमालेको दशौं महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्ने अभियानमा छन् । आफूलाई चुनौती दिने नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम एमालेबाट बाहिरिसकेको र भीम रावलको शक्ति पनि क्षयीकरण गरेकाले ओली ढुक्क अध्यक्ष हुने दाउमा छन् ।
यस्तै, पूर्वपञ्चहरूको पार्टी राप्रपाले पनि मंसिर ९–१२ मा महाधिवेशन गर्ने भएको छ । राप्रपामा पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापा अध्यक्षका दाबेदार छन् । तीनवटै दलले मंसिरमै महाधिवेशन गर्न लाग्नुमा चाँडै स्थानीय तहको निर्वाचन नै रहेको बुझिएको छ । संवैधानिक व्यवस्थाअनुसार चैतमै स्थानीय तह गर्नुपर्ने भएकाले मंसिरमै महाधिवेशन गर्न दलहरू लागिपरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।