काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति हेरफेर गर्ने तयारी गरेको छ ।
केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलवार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्ने गरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित मंसिर ९–१३ गतेसम्मको मितिलाई मंसिर २० गतेबाट सुरू गर्ने गरी सार्ने विषयमा छलफल भएको बताएका छन् ।
‘मिति धेरै धकेल्ने कुरा छैन, ९–१३ गतेको साटो मंसिर २० गतेबाट सुरू गर्ने भन्ने विषयमा छलफल भयो, त्यसमा १–२ दिन तलमाथि होला, निर्वाचन समितिलाई त्यहीअनुसार काम अघि बढाउन भनिएको छ,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
बैठकमा निर्वाचन समितिले निर्धारित मितिमा अब महाधिवेशन गर्न सकिने सम्भावना नरहेको जानकारी पदाधिकारीलाई गराएका थिए । समितिले अझै पनि १३ जिल्लामा वडा अधिवेशन गराउनेतर्फ ध्यान नदिनु ठीक नभएको भन्दै नेतृत्वलाई तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई सहज हुने गरी काम अघि बढाउन पार्टीले सहयोग गर्ने आश्वासन दिए । देउवाको आश्वासनपछि वरिष्ठ नेता पौडेलले महाधिवेशनका विषयमा तयारी गरेरै अघि बढ्ने हो भने तयारी समिति तथा उपसमितिहरु बनाउनुपर्ने भन्दै त्यसका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गरेका छन् ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कुनै पनि हालतमा मंसिरका लागि तोकिएको मितिमा महाधिवेशन गर्न सक्ने अवस्था नरहेको बताए । ‘अब मंसिरमा तोकिएको मितिमा महाधिवेशन गर्न सकिँदैन, यो हाम्रो निष्कर्ष हो, नयाँ मिति हामीले भनेर मात्रै हुँदैन, उहाँहरुको हातको कुरा हो,’ उनले भने ।
कांग्रेसले हालसम्म ७७ जिल्लामध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरू हुने वातावरण बनेको छैन ।
कांग्रेस नेताहरु भने छठपछि मात्रै बाँकी वडा अधिवेशन गर्ने मनस्थितिमा छन् । यो विषयमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनअघि सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
२ नम्बर प्रदेशका ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यता समेत टुंगो लाग्न बाँकी रहेको छ ।
कांग्रेसले गत साउन ३० गते ल्याएको कार्यतालिका अनुसार मंसिर ९–१३ गतेसम्म १४औं महाधिवेशन तोकेको छ । पछिल्लोपटक निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन भदौ १८ गते, गाउँनगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गतेमा हुने उल्लेख थियो ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १०–१२ गतेसम्म हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।
निर्वाचन समितिले केही हिमाली जिल्लामा जिल्ला अधिवेशनसमेत गरिसकेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नघाएर भए पनि जिल्ला अधिवेशन सुरू गरेको थियो । २१ हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।