काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएका छन् ।
आईतबार धादिङमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले धेरै क्षति व्यहोरेको बताउँदै चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताएका छन् ।
थापाले भने, ‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं । हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ ।’
नेता थापाले स्थानीय कार्यसमितिले नै तल्लो तहमा तालमेल गर्ने सहमति गरिएमा भने मान्यता प्राप्त हुनसक्ने बताए । उनले भने, ‘तल्लो तहमा हामी मिलेर चुनाव लड्छौं भन्ने कुरा भयो भने त्यसलाई सदासयताका रूपमा लिने एउटा कुरा हो । पार्टीले माथिबाट चुनावमा गठबन्धन गरेर जाँदैन । चुनावमा गठबन्धन गर्ने कांग्रेसको चरित्र नै होइन, चितवनमा हामीले देखिसक्यौं ।’
आसन्न चुनावका लागि ६ महिना समय भएकाले कसलाई कहाँ खटाउने हो भनेर आजदेखि नै तयारी थाल्न थापाले कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले विभाजित भएकाले अलमल परेका कार्यकर्ता तान्न पनि थापाले निर्देशन दिएका छन् ।
आगामी बैशाखमा स्थानीय निर्वाचन हुने भएकाले केन्द्रित भएर कार्यतालिका बनाउन तथा साना–साना कुरामा ध्यान पुर्याउन सचेत थापाले सुझाव दिए । महाधिवेशनपश्चात् मात्रै निर्वाचन हुनेप्रति थापाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका छन् ।
थापाले भने, ‘संविधानले साढे ५ वर्षभन्दा अवधि दिएको छैन, तपाईंहरू अलमल पर्नुपर्दैन । भदौमा महाधिवेशन प्रक्रिया सुरू गरेकाले र कोभिड पनि भएकाले निर्वाचन आयोगलाई अनुरोधपश्चात् अवधि उपलब्ध भएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।