काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै मुगु दुर्घटना लगायतका मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरिसकेका थिए ।
देउवाले दुर्घटना भएकै दिन सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तब्ध भएको छु । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु । दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचार सरकारले गर्नेछ । सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु ।’
देउवाले राहत र निःशुल्क उपचारबारे मुख खोलिसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिरो पल्टिन दुर्घटनाको भोलिपल्ट प्रेस विज्ञप्ति निकाले । जसमा मुगु बस दुर्घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन देउवा सरकारसँग आग्रह गरिएको छ ।
देउवा सरकारले मृतक परिवार र घाइतेको उपचारका लागि योजना बनाइरहेकै बेला प्रचण्डले आफ्नो पहलमा भएको देखाउन विज्ञप्तिबाजी गरेका स्रोतको दाबी छ ।
प्रचण्डको विज्ञप्तिमा उल्लेख छ, ‘दुर्घटनामा ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गर्दछु ।’
मंगलवार दिउँसो बाँकेको नेपालगञ्जबाट मुगु जिल्ला सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।