काठमाडौं - उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएपछि एक मन्त्री पद खाली छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका थिए । जसमा हमाल गैरसांसद हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा जेठान हमाल मन्त्री नियुक्त भएको भन्दै चौतर्फी आलोचना भएपछि उनले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन् । अब देउवा मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ । जसमा २० मन्त्री र तीन राज्यमन्त्री छन् ।
हमालले राजीनामा दिएसँगै अब उद्योगमन्त्री को ? भन्ने चर्चा सुरु भएको छ । प्रधानमन्त्री देउवाले पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेका छन् ।
स्वास्थ्यमन्त्री एकीकृत समाजवादीका विरोध खतिवडा नियुक्त भएका छन् । त्यसैले भावी उद्योगमन्त्रीमा श्रेष्ठको चर्चा बढी चल्न थालेको छ ।
व्यवस्थापनमा अब्बल मानिएका राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा रहँदा पनि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । त्यसैले प्रधानमन्त्री देउवाले उनलाई आफ्नै मन्त्रालयमा राखेका छन् ।
उद्योग मन्त्रालय खाली भएपछि श्रेष्ठलाई मन्त्रीमा बढुवा गर्न दबाब परेको उच्च स्रोतले जनाएको छ । राज्यमन्त्री श्रेष्ठ उद्योग बुझेका व्यक्ति हुन् ।
शिक्षा, स्वास्थ्य, हाइड्रो, कृषि, बैंक उनका लगानीका क्षेत्र हुन् । त्यसैले उद्योगमा ल्याउँदा स्वार्थ नबाझिने भएकाले उनलाई ल्याउन दबाब परेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।