काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संसदको सार्वजनिक लेखा समितिको सभापति दिनुपर्ने माग गरेको छ ।
नेपाली कांग्रेसका सांसद भरतकुमार शाह सभापति रहेको लेखा समितिको पदमा एमालेका तर्फबाट नेता बाँस्कोटाले दाबी गरेका छन् ।
आज आईतवारको सार्वजनिक लेखा समितिको बैठकको सुरूमा बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्र्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासअनुसार समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने तर्क गरे ।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेता बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गर्नुपर्ने भन्दै समितिका सभापति भरत शाहको राजीनामा माग गरेका छन् ।
एमालेका अर्का सांसद गौतमले पनि सांसद बास्कोटाको भनाइप्रति ऐक्यबद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरेका छन् ।
सभापति शाहले यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिएका छन् । शाहले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ दिँदै मन्त्री वा अर्काे जिम्मेवारीमा गएपछि मात्रै राजीनामा दिने गरिएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।