काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा भागबण्डा मिलेको छ ।
मंगलवार विहान बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएको जनाइएको छ ।
गठबन्धनका दलहरूबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्री, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले ४/४ वटा मन्त्रालय पाउने सहमति जुटेको छ । सत्तारुढ ३ दलले थप १/१ राज्यमन्त्री समेत पाउने भएका छन् ।
सरकारमा भागबण्डा टुंगिएपछि सत्तारुढ दलहरू मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा छन् । बुधवारसम्म मन्त्रीको नाम टुंगो लगाएर बिहीवारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्री, गृह, परराष्ट्र, रक्षा, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, युवा तथा खेलकुद र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ ।
माओवादी केन्द्रले अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था तथा गरीबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने भएको छ । जसपाले कृषि तथा पशुपन्छी, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा बातावरण पाउने भएको छ । नेकपा एसले कानून, न्याय तथा संसदीय मामिला, शहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन मन्त्रालय पाउने भएको छ ।
कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सरकारमा सहभागी छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।