काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच केन्द्रमा निकटता देखिएका बेला दोलखा जिल्ला सभापतिको चुनावमा तालमेल हुने भएको छ ।
जिल्ला सभापति पदका लागि पहिलो चरणमा भएको निर्वाचनबाट नतिजा ननिस्किएपछि आज सोमबार दोस्रो चरणको चुनाव हुन लागेको छ ।
कांग्रेस विधानअनुसार सभापति हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले तोकिएको मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुन लागेको छ ।
आईतबार भएको निर्वाचनमा सभापति पदमा संस्थापन पक्षका वर्तमान सभापति रुद्रबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका तारा खड्का र केशव चौलागाई प्रतिस्पर्धामा रहेका थिए ।
पौडेल पक्षका लामाले ६४३ मत, सिटौला पक्षका तारा खड्काले ३९७ मत र देउवा पक्षका खड्काले ३५८ मत मात्रै ल्याएका छन् । सभापतिका अर्का उम्मेदवार चौलागाईंले ९५ मत मात्रै ल्याए । दोस्रो चरणको चुनावमा पौडेल पक्षका लामा र सिटौला पक्षका खड्काबीच चुनाव हुने भएको छ ।
दोस्रो चरणको मतदानमा देउवा र सिटौला पक्षबीच तालमेल हुने भएको छ । दुवै पक्षबीच तालमेल हुँदा ३९७ र ३५८ मत जोडिएर ७५५ मत पुग्नेछ । जुन ५० प्रतिशतभन्दा बढी मत रहेको छ ।
देउवा र सिटौला पक्षबीच तालमेल भएर जिल्ला सभापति पदको नतिजाको फैसला आजै सोमबार हुने जनाइएको छ । जिल्लाको तालमेल केन्द्रमा समेत देखिएमा सभापति पदमा फेरि देउवा नै जित्ने विश्लेषण भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।