काठमाडौं – सत्तापक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुबै पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् ।
बिहीवार सर्वदलीय बैठक डाकेर सत्तापक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका छन् ।
सत्ता गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अवरोध अन्त्य गर्न चाहेको बताएकी छन् ।
‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्षसँग आवश्यक परे एक्लै संवाद गर्न पनि तयार हुनुभएको छ, उहाँ संसद्को गतिरोध अन्त्य गर्न चाहनुहुन्छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले भनिन् ।
कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक ‘डेडलक’ अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवाद चाहेको बताएका छन् ।
‘प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक डेडलक अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवादको प्रक्रिया अघि बढाइरहनुभएको छ, एमालेका दोस्रो तहका नेताहरुसँग अझै पनि सत्ता पक्षले त्यो प्रयासलाई जारी राखेको छ,’ उनले भने ।
विश्वकर्माले सर्वदलीय बैठकसमेत एमालेसँगको संवादकै आधारमा तय भएको र अन्त्यमा सो दलबाट बैठकमा सहभागिता भने नभएको बताए । उनले भने, ‘संवाद सुरू भइरहेको थियो, अहिले पनि जारी छ, त्यहीअनुसार नै सर्वदलीय बैठक बोलाइएको हो तर उहाँहरु आउनुभएन, यो प्रयास अझै जारी रहन्छ ।’
प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संसदमा देखिएको गतिरोध अन्त्य, प्रतिपक्षी दलको रचनात्मक सहयोग र राष्ट्रिय राजनीतिका मुद्दामा सहमति चाहेको बताउँदै आएका छन् ।
उनले यसअघि ओलीसँग वार्ता र संवाद गर्न भन्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोटस्थित ओली निवास पठाएका थिए । त्यसअघि समेत कार्कीले २ पटक ओलीसँग एक्लै भेटेका थिए ।
कांग्रेसबाट एमालेका नेताहरुसँग संवाद गर्न मन्त्री कार्की र नेता विश्वकर्मा खटिँदै आएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले समेत प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्य गर्ने विषयमा एमाले अध्यक्षसँग वार्ता गर्ने तयारी गरिरहेको जनाएको छ तर २ नेताबीच कहिले भेट हुने भन्ने तय भइसकेको छैन ।
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सम्पर्क गरेर छलफल अगाडि बढाउने प्रतिवद्धता जनाएको कानूनमन्त्री कार्कीले जानकारी दिए ।
एमालेले संसद बैठक सुरू भएदेखि नै अवरोध गर्दै आइरहेको छ भने सभामुख अग्निप्रसाद सापकोटा र सरकार संवादमार्फत समस्या समाधान गर्न तयार नभए अवरोध जारी रहने बताउँदै आएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।