काठमाडौं - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सत्ताको नेतृत्व गरिरहेको दल विभाजन भएमा प्रधानमन्त्री वा मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने नेपालको संविधानमा उल्लेख छ ।
एमाले विभाजन भएको एक महिना बितिसकेको छ । भदौ ९ गते एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो तर निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न समय दिएकाले आगामी असोज २२ गतेसम्म मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन सक्नेछिन् ।
बागमती प्रदेशमा अहिले एमालेबाट मुख्यमन्त्री बनेकी शाक्य स्पष्ट अल्पमतमा छिन् । त्यसैले उनले विश्वासको मत लिन नसक्ने अवस्था देखिएकाले बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न दलहरूबीच छलफल सुरु भएको छ ।
बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेस आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन चाहन्छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।
त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल अगाडि बढाएका छन् । कांग्रेस र एकीकृत समाजवादीबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बनाउने प्रयास भइरहेको छ ।
तर नेपाली कांग्रेसका नेता मुख्यमन्त्री बन्दै लाग्दा डा.शेखर कोइरालालाई भने औडाहा छुटेको छ । उनले बानियाँलाई मुख्यमन्त्री बनाउन नहुने भन्दै बिहीबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले यस्ता क्रियाकलापले पार्टी कमजोर हुने दाबी गरेका छन् ।
‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आमजनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु,’ शेखरले लेखेका छन् ।
अहिले डा.कोइराला कांग्रेस सभापति देउवाका हरेक क्रियाकलापको विरोधमा उत्रेका छन् । आफ्नै पार्टीका नेता मुख्यमन्त्री बन्न लाग्दा पनि उनले विरोध गर्नुलाई आमकांग्रेसीले निको मानेका छैनन् ।
कोइरालाको स्टाटस आएलगत्तै नेता बानियाँले त्यसको प्रतिवाद गरेका छन् ।
उनले मिडियाडबलीसँग कुराकानी गर्दै भने, ‘कांग्रेस भएर कांग्रेसको प्रगति देख्न नचाहने पनि नेता हुन्छ । उनी कांग्रेसको नेता बन्न लायक छैनन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।