काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयास गरेका छन् ।
प्रधानमन्त्री देउवाले मंगलवार तेस्रोपटक सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर सरकारले सम्बन्ध सुधार गर्न चाहेको सन्देश दिएका छन् ।
प्रधानमन्त्री देउवाका दूतका रुपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा संवादक्रममा सरकारले प्रमुख प्रतिपक्षसँग मिलेरै सुमधुर सम्बन्ध स्थापित गर्दै अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाको सन्देश ओलीलाई सुनाए ।
बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्षी दलसँग सुमधुर सम्बन्ध स्थापित गरेर राष्ट्रिय राजनीतिका मुद्दामा एकसाथ अघि बढ्न चाहनुहुन्छ, त्यसकारण कानूनमन्त्रीज्यूलाई संवादका लागि पठाइएको हो ।’
अध्यक्ष ओलीसँगको भेटमा कानूनमन्त्री कार्कीले सरकार र प्रतिपक्षीबीच दूरीको अवस्था रहिरहनु राम्रो नभएको र सरकार सम्बन्ध सुधार गरेर अघि बढ्न तयार रहेको ओलीलाई बताएका छन् ।
भेटका क्रममा कार्कीले संसद्मा समेत लामो समयदेखि अवरोध हुँदा अन्योलको स्थिति बनेको भन्दै सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशलाई गति दिन सकिने जिकिर गरे । संसद्मा एमालेले गर्दै आइरहेको निरन्तर अवरोध हटाइदिन समेत उनले आग्रह गरेका छन् ।
जवाफमा एमाले अध्यक्ष ओलीले सरकारले संसद् छलेर दल विभाजन गर्न अध्यादेश ल्याएको र संसद् चालू हुँदै गर्दा नै अध्यादेश खारेज गरेकोमा आपत्ति जनाएका छन् ।
‘सरकारले एमाले फुटाउनकै लागि संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, अहिले फेरि संसद् जारी रहँदा नै खारेज गर्यो,’ ओलीले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै मन्त्री कार्कीलाई भने, ‘दुबै कुरा गैरकानूनी र असंवैधानिक छन् ।’
ओलीले ५ दलीय गठबन्धन सरकारले एकपछि अर्को असंवैधानिक हर्कत गरिरहेको र त्यसलाई सच्याउने प्रतिवद्धता नआएसम्म संवाद र सहकार्य सम्भव नरहेको सन्देश प्रधानमन्त्री देउवालाई सुनाइदिन जवाफ दिएका छन् ।
सरकारले बजेटमा पनि मनोमानी गरेको तथा एकपटक प्रतिपक्षसँग सल्लाह समेत नगरेको भन्दै सरकारका कामप्रति ओलीले गुनासो गरेका छन् ।
ओली सचिवालयका अनुसार सरकारको यस्तो गैरसंवैधानिक क्रियाकलापले सरकार र प्रतिपक्षबीच सम्बन्ध राम्रो बन्न नसक्ने जानकारी कार्कीमार्फत् देउवालाई दिइएको छ ।
यसअघि पार्टीले झापामा आयोजना गरेको कार्यक्रममा जानुअघि पनि मन्त्री कार्कीले बालकोट पुगेरै ओलीलाई भेटेका थिए । त्यसअघि समेत गत महिना कार्कीले पहिले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग संवाद गरेपछि अध्यक्ष ओलीसँग संवादका लागि बालकोट पुगेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।