काठमाडौं – लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको सत्तारुढ दल नेपाली कांग्रेसमा चुनाव हार्ने भएपछि मतपत्र कब्जामा लिएर आगजनी गरिएको अराजक घटना भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले षडयन्त्रपूर्वक ढंगले हराउन खोजेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लमजुङमा मतपत्र कब्जामा लिएर आगो लगाएको छ ।
लमजुङको राइनास नगर कार्यसमितिको नगर अधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित गरेर मतपत्र जलाइएको कांग्रेस लमजुङले जानकारी दिएको छ ।
कांग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, अघिल्लो अधिवेशनमा जिल्ला सभापति र प्रतिनिधिसभाका उम्मेदवार बनेका टकराज गुरुङ, नेताहरू राजकुमार पाण्डे, डिकेन्द्रराज कँडेल लगायत रहेको नगरपालिकामा अराजक घटना भएको छ ।
चुनावका क्रममा दिनभर लाइन बसेर मतदान गरेका मतदाता समेत आफ्नो मतमा आगो लगाइएको भन्दै आक्रोशित बनेका छन् भने धाँधली भएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् । मतपत्रमा आगो लगाउने बेला स्थिति तनावग्रस्त भएको थियो ।
अधिवेशनमा मतपत्रमार्फत धाँधली गरेको र हराउन षड्यन्त्र गरेको भन्दै पौडेल पक्षका सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेल पक्षले मतपत्रमा आगो लगाएको छ । आधाभन्दा बढी मतदान भइसकेपछि मतदान प्रक्रिया स्थगित गरेर मतपत्र जलाइएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले जानकारी दिए ।
सभापतिका उम्मेदवार पौडेललाई मत दिन आवश्यक कोष्ठ नभएको र क्रम संख्या २ हुनुपर्नेमा १ भएको कारण मतपत्र जलाएको उम्मेदवार पौडेलले दाबी गरेका छन् । निर्वाचन अधिकृत र सभापति देउवा पक्षका उम्मेदवार नुरराज कडरिया पक्षले षडयन्त्रपूर्वक हराउन खोजेको पौडेल पक्षको आरोप रहेको छ ।
सभापतिका उम्मेदवार पौडेलले भने, ‘आफू हार्ने सुनिश्चित भएपछि षड्यन्त्र भयो । त्यही भएर हामीले मतदान प्रक्रिया रोकेर मतपत्र जलायौं ।’
राइनास नगर कार्यसमितिका लागि सभापति उम्मेदवार पौडेल र कडरिया प्यानल बनाएर निर्वाचन भिडेका थिए । अधिवेशनमा ४० मत खसेपछि पौडेललाई मत दिने ठाउँ नभएको जानकारी पाएको र १२३ मत खसेपछि सभापति उम्मेदवार पौडेललाई मतदान गर्ने कोष्ठ र क्रम संख्या नभएको भेटिएको उम्मेदवार पौडेलले दाबी गरे । राइसनास मा क्षेत्रीय प्रतिनिधि र वडाध्यक्ष गरी २०२ मतदाता रहेका छन् ।
सभापति पदका उम्मेदवार पौडेलले मतपत्रमा अल्फाबेटअनुसार आफ्नो नाम १ नम्बरमा हुनुपर्ने ठाउँमा दोस्रो स्थानमा राखिदिएको आरोप लगाए । ‘मैले मेरो नाम क्रम संख्या २ मा छ भनेर भोट मागेको थिएँ, आखिर अर्का उम्मेदवारको पनि १ मेरो पनि १ नम्बर क्रम संख्या राखिदिएछ, हार्ने निश्चित भएपछि ठूलो षड्यन्त्र गरियो,’ पौडेलले भने ।
नगर सभापतिका देउवा पक्षका उम्मेदवार कडरियाले विपक्षी प्यानललाई हराउन आफूले कुनै षड्यन्त्र नगरेको स्पष्ट पारे । कडरियाले भने, ‘मतपत्र छाप्दा गल्ती भएछ, यसलाई षड्यन्त्र भन्न मिल्दैन । चुनाव जित्नका लागि हामीले कुनै षड्यन्त्र गरेका छैनौं ।’
विपक्षी उम्मेदवारले मतदान प्रक्रिया स्थगित गर्न आग्रह गर्दा आफूले सहमति दिएको तर निर्वाचन प्रक्रिया नै स्थगित गरेर मतपत्र जलाउन आफ्नो सहमति नरहेको कडरियाले बताएका छन् ।
उनले भने, ‘मतपत्रमा भएको गल्तीका लागि अर्को समझदारी गर्न सकिन्थ्यो, उहाँलाई आएको मतलाई मान्यता दिन सकिन्थ्यो । मतदान जारी राख्नुपर्ने मेरो अडान थियो ।’
राइनास नगरपालिकामा खटिएका निर्वाचन अधिकृत दिनेश चिलुवालले मतपत्र छाप्दा गल्ती भएको स्वीकारेका छन् । राइनास नगरमा लगिएका सबै मतपत्रमा सभापति उम्मेदवार पौडेललाई मत दिन ठीक चिह्न लगाउने कोष्ठ नभएको बताएका छन् । मतदान प्रक्रिया रोकिएकाले अब जिल्ला निर्वाचन समितिले राइनासको अधिवेशनबारे निर्णय गर्ने चिलुवालले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।