काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ ।
सभापति शेरबहादुर देउवाविरुद्ध पौडेलले आफ्नो गुटबाट एक जना मात्रै उम्मेदवार मैदानमा उतार्ने लामो प्रयास गरिरहेका बेला पूर्व महामन्त्री प्रकाशमान सिंहले विद्रोह गरेका छन् ।
नेता सिंहले गुटभित्र सहमति जुट्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । पौडेल गुटमा उनी स्वयं, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला समेत सभापतिको दौडमा रहेका छन् ।
पौडेल गुटबाट धेरै व्यक्ति सभापतिका लागि मैदानमा उत्रिएमा बहालवाला सभापति देउवालाई फाइदा पुग्ने विश्लेषण भइरहेको छ ।
सभापति पदमा उम्मेदवारी घोषणा गर्दै नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन पार्टीको पहिलो व्यक्ति भएर काम गर्ने निष्कर्ष निकालेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१७ वडा कार्यसमितिले आज शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताएका छन् ।
नेता सिंहले सिंगो पार्टीपंक्तिलाई संस्थागत ढंगले अघि बढाउन आफूले पार्टीको नम्बर वान म्यान भएर काम गर्न चाहेको बताए । उनले लामो समयदेखि पार्टीको दोस्रो तहमा बसेर काम गरिसकेकाले अब सभापति भएर काम गर्न चाहेको इच्छा व्यक्त गरेका छन् ।
सिंहले भने, ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई राख्न मिल्दैन है । मैले भने सबै नेताहरूलाई हामी सम्मान गर्छौं । त्याग, तपस्या, कुर्वानी उहाँहरूले डेमोक्रेसी ल्याउनका लागि गर्नुभएको छ । त्यसप्रति सम्मान छ तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिङ्ग अवस्था छ । यदि हामीले यो लथालिङ्ग अवस्थामा १४औं महाधिवेशनमा पनि ठीक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौं भने यो पार्टी प्रजा परिषद्को बाटोमा जान धेरै दिन लाग्दैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।