आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आगामी चुनाव कांग्रेस र माओवादीसँग मिलेर लड्ने माधव नेपालको इच्छा !

आगामी चुनाव कांग्रेस र माओवादीसँग मिलेर लड्ने माधव नेपालको इच्छा !

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 5.2K
    SHARES

  • आगामी चुनाव कांग्रेस र माओवादीसँग मिलेर लड्ने माधव नेपालको इच्छा !

    काठमाडौं – नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ ।

    मंगलवार सुरू भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तिमा प्रतिनिधि सभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

    अध्यक्ष नेपालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनलाई स्थानीय तहसम्म पुर्‍याउनु आवश्यक रहेको जनाएका छन् ।

    मुलुकमा २ प्रकारका राजनीतिक धार रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘तीमध्ये एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच, जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ । अर्को वाम लोकतान्त्रिक समीकरण, जसको प्रतिनिधित्व नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन् ।’

    वाम लोकतान्त्रिक समीकरणमा सामेल दलहरुको वर्गाधार र वर्गचरित्र फरक–फरक भए पनि यिनीहरुले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरिरहेको नेपालले उल्लेख गरेका छन् । नेपालले भनेका छन्, ‘यस मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता रहेको छ । अब हामी संघीय तथा प्रदेश सरकारहरुमा पनि सामेल हुने छौं र त्यहाँबाट जनताको सेवा गर्ने प्रयास गर्नेछौं । हामी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय, समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिने छौं ।’

    प्रतिवेदनमा माक्र्सवाद, लेनिनवादलाई मूल सिद्धान्त मान्दै जनताको बहुदलीय जनवादमा टेकेर समाजवादमा पुग्ने लक्ष्य राखिएको छ । द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जनसार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबीच एकरुपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापना आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रतिवेदनमा उल्लेख छ । 

    ‘जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो । यो पार्टी अग्रजहरुले प्रस्तुत गर्नुभएको माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारप्रति प्रतिबद्ध छ । आजको परिस्थितिमा माक्र्सवाद प्रयोगका पुराना मोडेलको अनुकरण गरेर होइन, मुलुकको विशिष्ट परिस्थिति अनुरुपको विचार अँगालेर क्रान्तिकारी व्यवहार गरियो भने मात्र सफलताका साथ अगाडि बढ्न सकिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।  

    पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात् आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुने उल्लेख छ । व्यक्ति कमिटीको मातहत रहने तथा अल्पमत बहुमतको मातहत रहने, बहुमतले अल्पमतको कदर गर्ने र तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति अवलम्बन गरिने नेपालले उल्लेख गरेका छन् ।

    ‘पार्टीको सार्वभौम अधिकार पार्टीका संगठित सदस्यहरुमा निहित रहनेछ र त्यसको प्रयोग पार्टी विधानअनुसार गरिने छ । पार्टीका सबै कमिटीहरु समावेशी चरित्रका हुनेछन् । सबै पार्टी कमिटीमा युवालाई उचित स्थान दिइने छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यता सहितको वैज्ञानिक समाजवाद हो । यस पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने मान्यता राख्छ । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिकाजस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिबद्ध छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend