काठमाडौं - १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा समीकरण पनि तीव्र परिवर्तन भइरहेको छ । अहिलेको समीकरण फेरबदल हेर्दा १३औं महाधिवेशनमा जो जहाँ थिए, त्यसमा धेरै यताउता हुने देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई उनका धेरै विश्वासपात्र विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । उनी आफैं सभापतिमा उठ्ने तयारी गरेका छन् ।
देउवा दोहोरिने मनस्थितिमा छन् । रामचन्द्र पौडेल अब अन्तिम पटक भन्दै सभापतिको दौडमा छन् । महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्छु भनिरहेका छन् ।
तर अहिले कांग्रेसमा सभापति देउवा र नेता प्रकाशमान सिंहबीचको हिमचिमलाई लिएर व्यापक व्याख्या विश्लेषण हुन थालेको छ ।
विगतमा देउवा र सिंह एउटै खेमामा थिए । देउवालाई पार्टी फुटाउँदा सिंहले साथ दिएका थिए । तर, पछि उनी फर्के र कोइराला गुटमा सामेल भए । अहिले सिंह पौडेल समूहमा छन् ।
उनकै निवास चाक्सीबारीमा पौडेल समूहको भेला भइरहन्छ । तर, केही दिनयता सिंहको बालुवाटार आउजाउ बाक्लिएको छ । शुक्रबार पनि सिंह बालुवाटार पुगेका थिए ।
सभापति देउवाले नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीलगायतसँग छलफल गर्नुअघि नेता सिंहसँग दुई घन्टा ‘गोप्य’ भेटवार्ता भएको स्रोतले बताएको छ । पछिल्लो समय सिंहले आफूलाई सभापतिमा देउवाले पनि सहयोग गर्ने बताउँदै आएका छन् । त्यही कारण कतै सिंहलाई अघि बढाउने देउवाको तयारी त होइन भन्दै बोहोराटारमा हलचल मच्चिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।