आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महाधिवेशनको मुखैमा कांग्रेसका ३ वटै गुटभित्र फुट, को कता ?

महाधिवेशनको मुखैमा कांग्रेसका ३ वटै गुटभित्र फुट, को कता ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 6.8K
    SHARES

  • महाधिवेशनको मुखैमा कांग्रेसका ३ वटै गुटभित्र फुट, को कता ?

    काठमाडौं – सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । गत भदौ १८ गतेबाट कांग्रेसलाई महाधिवेशन लागेको छ ।

    अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदैछन् ।

    कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित ३ गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन पक्ष मानिन्छ ।

    अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् ।

    त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३ औं महाधिवेशनपछि नै संस्थागत भएको हो । सिटौला समेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए । त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् ।

    तर १३ औं महाधिवेशन भएको ५ वर्ष पूरा भएर १४ औं महाधिवेशनमा होमिँदै गर्दा भने कांग्रेसभित्रको संस्थागत गुट नै फुटको संघारमा पुगिसकेको छ । केही नेताहरुले धमाधम धार फेर्न थालिसकेका छन् ।

    १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापति देउवा नै सभापतिका आकांक्षी छन् । सो पक्षबाट हालका उपसभापति विमलेन्द्र निधिले सभापतिमा दाबेदारी राखिसकेका छन् । निधिले हालको संस्थापनबाट देउवाविरुद्ध विद्रोह गरेर उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।

    ‘म सभापतिका लागि पूर्णरुपमा तयारीसहित अघि बढिसकेको छु, सबैसँग निरन्तर छलफलमा छु, सम्पर्कमा छु, जिल्लाका साथीहरुसँग पनि भेटघाट र संवाद भइरहेको छ,’ पार्टी सभापतिका लागि मैदानमा उत्रिएका निधिले भने ।

    संस्थापनबाटै नेता गोपालमान श्रेष्ठ पनि सभापतिको आकांक्षी हुन् तर उनले अहिलेसम्म औपचारिक रुपमा मुख खोलेका छैनन् । निधि र श्रेष्ठ दुबै मैदानमा उत्रिने हो भने देउवालाई चुनौती थपिने देखिन्छ ।

    महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका शर्माले आफ्नो निकटता सभापति देउवासँग प्रष्ट रहेको तर महाधिवेशनका विषयमा भने आफूले उम्मेदवारी मात्रै घोषणा गरेको बताएका छन् ।

    संस्थापनइतर मानिएको पौडेल पक्षबाट वरिष्ठ नेता आफैं सभापतिको मुख्य दाबेदार हुन् । उनी आफ्नो पक्षमा सहमति गराएर सर्वसम्मत उम्मेदवार हुने दाउमा अघि बढ्दै आइरहेका छन् ।

    सोही पक्षबाट हालका महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. शेखर कोइराला पनि सभापतिका आकांक्षी हुन् । यो पक्षलाई मिलाउन नेत्री सुजाता कोइराला निकै सक्रिय रहँदै आइरहेकी छन् । नेता अर्जुननरसिंह केसी समेत यसपटक यो गुटभित्र सहमति गराएर सभापति पद देउवाबाट फुत्काउन सक्रिय भएर लागिरहेका छन् । यो पक्षबाट कोइराला परिवारबाटै सभापतिमा दाबी हुने सम्भावना समेत रहेको छ ।

    कांग्रेस भित्रको अर्को गुट सिटौला पक्ष हो । सिटौला आफैं पनि आगामी महाधिवेशनका लागि टीम नै घोषणा गर्ने तयारीमा छन् । उनले यसअघि सीमित व्यक्तिलाई राखेर टीम बनाएको भए पनि यसपटक टीमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आइरहेका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले समेत पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    १३ औं महाधिवेशनमा गगन थापा कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धारबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । यसपटक उनले महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    ‘तपाईं यसपटक कुन पक्षबाट उम्मेदवार’ भन्ने प्रश्नमा थापाले भने, ‘म गत महाधिवेशनमा कृष्ण सिटौला दाइको पक्षबाट मैदानमा थिएँ, यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला दाइ दुबैलाई एक ठाउँमा ल्याउने प्रयासमा अघि बढेको छु ।’

    नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ४ मा आयोजित कार्यक्रममा अग्रजमाझबाट उम्मेदवारी घोषणा गरेका थिए । त्यसयता उनी वरिष्ठ नेता पौडेल पक्षले आयोजना गरेका कार्यक्रममा निरन्तर सहभागी हुँदै आइरहेका छन् । उनी पौडेल पक्षले सभापतिका आकांक्षीहरुबीच एकता र सहमति हुने भनी भदौ १७ गतेमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रममा समेत सहभागी बनेका थिए ।

    हालका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले १०८ औं बीपी जयन्तीका अवसरमा भदौ २४ गते बीपी संग्राहलय सुन्दरीजलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका शर्माले आफ्नो निकटता सभापति देउवासँग प्रष्ट रहेको तर महाधिवेशनका विषयमा आफूले उम्मेदवारी मात्रै घोषणा गरेको बताए ।

    ‘म १३ औं महाधिवेशनमा पहिलो चरणबाट नै शेरबहादुर देउवासँगै थिए, अहिले पनि गुटगत हिसाबले कता निकट छु भन्ने प्रष्ट छ, मैले अहिले व्यक्तिगत रुपमा आफ्नो उम्मेदवारी घोषणा गरें, प्यानल बनाउने काम सभापतिको हो, महामन्त्रीको उम्मेदवारले होइन,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend