काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनदेखि सरकारमा हुँदा अनेक काण्ड मच्चाएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।
धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका–२ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले परित्याग गरी पूरै गाउँका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले अविर तथा टीका लगाई कांग्रेसमा प्रवेश गराएपछि नेकपा एमालेमा ठूलो पहिरो गएको छ ।
सहमहामन्त्री थापाले नेकपा एमाले परित्याग गर्ने सान्नेका पूर्व वडाध्यक्ष दिलबहादुर स्याङ्वो, वडा सदस्य प्रेम मगर, लक्ष्मी मगर, दलबहादुर मगर, सुमन अधिकारी, नगेन्द्र तामाङ, सरोज तामाङ लगायत १०५ जना नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।
थापाले नवप्रवेशीलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरी टीका, अविर तथा खादा लगाएर स्वागत गरेका छन् । पूर्वमन्त्री थापाले नेपाली कांग्रेसले मात्र अब गाउँको विकास र समृद्धि गर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरू ज्ञानबहादुर गुरुङ, अमित लो तामाङ, शान्ति खड्का, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, धनकुटा वडा नम्बर १ का वडा सभापति विवि तामाङ लगायतका नेताहरूको सहभागिता थियो ।
सहभागीले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन सबैले अब सक्रियतापूर्वक पार्टी संगठनमा लाग्नुपर्नेमा जोड दिए भने कार्यक्रमको सञ्चालन युवा नेता सन्तोष मानन्धरले गरेका थिए ।
नेपाली कांग्रेस पाख्रिवास वडा नम्बर २ का सभापति धनबहादुर मगरको अध्यक्षमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्यहरू आनन्द सन्तोषी राई, घनेन्द्रराज श्रेष्ठ, पूर्व जिल्ला सहसचिव राजन पौडेल, जिल्ला सदस्य नरेश श्रेष्ठ, जयन्द्र घिसिङ, रुकमान तामाङ, चन्द्र विष्ट, पूर्व क्षेत्रीय सभापति चुडामणि धमला, पाख्रिवास नगरपालिका वडा नम्बर ३ का वडा सभापति चन्द्र लिम्बु, वडा नम्बर ९ का सभापति सहदेव घिसिङ, नेपाली कांग्रेसका युवा नेता मदन घिमिरे, ठगिनकुमार राई, धनबहादुर मोक्तान, पुरुन राई, मनोज राई, वडा नम्बर १ का पूर्व सभापति शम्सेर गोङ्वा, तरुण दलका वडाध्यक्ष अर्जुन घले लगायतका नेताले समेत पार्टी प्रवेश गर्नेलाई स्वागत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।