आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पौडेल पक्षमा मिलेनन् सभापतिका साझा उम्मेदवार, देउवालाई कति फाइदा ?

पौडेल पक्षमा मिलेनन् सभापतिका साझा उम्मेदवार, देउवालाई कति फाइदा ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३१ २०७८

  • 6.4K
    SHARES

  • पौडेल पक्षमा मिलेनन् सभापतिका साझा उम्मेदवार, देउवालाई कति फाइदा ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल पक्षले करीब १५ दिनअघि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो ।

    तर यसअवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरुबीच संवाद नै हुन सकेको छैन । आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस भएको छ ।  

    केही दिनयता आपसमा संवाद नभए पनि साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरुले बताएका छन् । भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरु रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेका हुन् ।

    भदौ १८ गतेबाट कांग्रेसको वडा अविधेशन सुरू हुँदै थियो । कमसेकम वडा अविधेशनअघि साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल पक्षले प्रयास गरेको थियो । यसका लागि पौडेल पक्षका नेताहरुले लगातार ३ दिनसम्म बैठक गरेका थिए ।

    साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरु एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरुले १७ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए तर त्यो प्रयासले हालसम्म मूर्तरूप लिन सकेको छैन ।

    भदौ १७ गतेको पत्रकार सम्मेलनपछि साझा उम्मेदवार तय गर्ने विषयमा पौडेल पक्षका नेताहरुले संवाद नै गरेका छैनन् । पौडेल पक्षले गत सोमवार आफूनिकट केन्द्रीय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको थियो ।

    बैठकमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल नै भएन । डडेल्धुरामा गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय बैठकले गरेको थियो । यो निर्णय गर्न पौडेल पक्षलाई सकस भएन तर साझा उम्मेदवार टुंगो लगाउन भने सकस पर्ने देखिन्छ ।

    उम्मेदवारी घोषणा गरेका शेखरले जतिसक्दो छिटो साझा उम्मेदवार घोषणा हुने बताएका छन् । ‘हामीले जतिसक्दो चाँडो साझा उम्मेदवार घोषणा गर्छाैं,’ उनले भने, ‘संवाद नभएको भन्ने होइन, हामीबीच संवाद जारी रहेको छ ।’  

    डडेल्धुरामा भएको वडा अधिवेशनले पनि यसलाई विषयान्तर गरेको शेखरले बताए । तर पौडेल पक्षकै नेता बलबहादुर केसीले भने भदौ १७ गतेपछि साझा उम्मेदवार चयन गर्ने विषयमा संवाद नै नभएको बताएका छन् ।

    ‘काठमाडौंमा हुँदा बैठकका लागि मैले समन्वय गरेको थिएँ, अहिले म काठमाडौंबाहिर छु,’ उनले भने, ‘त्यसैले बैठक हुन सकेको छैन ।’

    पौडेल पक्षबाट सभापतिका आकांक्षी ४ नेता आफ्नो अडानबाट पछि हटेका छैनन् । उनीहरुले आ–आफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन् । यसले साझा उम्मेदवार तय गर्न बाधा पर्ने देखिएको छ । पौडेल पक्षका एक नेताका अनुसार सभापतिमा दोहोरिने चाहना राखेका शेरबहादुर देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी २ उम्मेदवार हुने सम्भावना रहेको छ । 

    देउवाले थप एक कार्यकालका लागि सभापति बन्ने चाहना राखेर सोहीअनुसार तयारी गरिरहेका छन् । पौडेल पक्ष देउवालाई कुनै पनि हालतमा सभापतिमा दोहोरिन दिने पक्षमा छैन तर महाधिवेशनमा पौडेल खेमाबाट सभापतिमा २ उम्मेदवार भए देउवालाई चुनाव जित्न सहज हुने देखिएको छ ।

    पौडेल पक्षबाट सभापतिमा आकांक्षा राखेका ४ नेता अहिले वडा तहबाटै आफू निकट प्रतिनिधि बढीभन्दा बढी ल्याउने प्रयासमा रहेका छन् । यसका लागि उनीहरुले सम्पर्क र भेटघाट केन्द्रदेखि गाउँगाउँसम्म पुर्‍याएका छन् । 

    आफूनिकट महाधिवेशन प्रतिनिधिहरु धेरै ल्याउने र आफू बलियो भएको सन्देश दिने उनीहरुको रणनीति रहेको देखिन्छ । महाधिवेशन प्रतिनिधि चयन हुनुअघि नै आफूहरुले सभापतिमा साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता केसीले जनाएका छन् ।

    ‘यसबारे तत्काल छलफल गर्छौं । महाधिवेशन प्रतिनिधिको चुनावअघि नै साझा उम्मेदवार चयन गर्छोैं,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend