काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ ।
गत भदौ २५ गते डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रुपमा धाँधली र बलमिच्याइँपूर्वक गरिएको भन्दै पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन पुनः गरिनुपर्ने माग गरेको छ ।
नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल पक्षको चेतावनी रहेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो पक्षको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पुनः वडा अधिवेशन गरिनुपर्ने बताएका छन् ।
पौडेलले डडेल्धुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । ‘सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव गर्ने काम कांग्रेसलाई सुहाउँदैन । हामी यस्तो अधिवेशनलाई मान्दैनौं, धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भनेका छन् ।
‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाई अधिवेशन निर्वाचन प्रारम्भ गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णय समेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रो गम्भीर असहमति छ ।’
डडेल्धुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा समावेश नाम केन्द्रबाट कटौती गरेर आफूखुशी नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै केन्द्रसँग असन्तुष्ट रहँदै आइरहेको छ ।
डडेल्धुराका जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद केन्द्रको निर्देशनमा वडा अधिवेशन सम्पन्न भइसकेका छन् । वडा अधिवेशनमा सभापति शेरबहादुर देउवा बाहेकको पक्षले सहभागिता जनाएको छैन ।
कांग्रेसले गत भदौ १८ गते देशभरका ६ हजार ७४३ वडामा एकसाथ वडा अधिवेशन गर्न मिति तोके पनि हालसम्म ५६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । डडेल्धुराको अधिवेशन विवादित छ भने त्यसबाहेक २० जिल्लामा वडा अधिवेशन सुरू नै भएको छैन ।
पछिल्लोपटक कांग्रेसले गत शुक्रवार केन्द्र र प्रदेश बाहेकका अधिवेशनको मितिलाई यथावत् राख्दै अन्य तहको अधिवेशनका मिति हेरफेर गरेको थियो । जसअनुसार कांग्रेसले २० जिल्लाको अधिवेशन असोज ५ गतेलाई तोकेको छ भने पालिका तहको अधिवेशन भदौ २७ गतेबाट सारेर असोज ९ गतेमा पुर्याइएको छ ।
‘क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरी र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कारअनुरुपको पार्टी नरहने खतराको लक्षण देखापर्न थालेको छ, डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लामा पनि हुन नपाओस् भन्नेतर्फ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छौं,’ पौडेल पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डडेल्धुरा अधिवेशन र क्रियाशील सदस्यताको विवादका विषयमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले समेत सभापति शेरबहादुर देउवालाई पत्र नै पठाएर जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले विवाद समाधान नगरी सो जिल्लामा मात्रै होइन अन्य जिल्लामा समेत अधिवेशन अघि नबढाउन सभापति देउवालाई ध्यानाकर्षण गराएका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।