काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता सञ्चालन र राजनीतिक नियुक्तिमा एकलौटी गरेको भन्दै पौडेल पक्ष छलफलमा जुटेको छ ।
सभापति देउवाले गृहजिल्ला डडेल्धुरामा राज्यशक्तिको दुरुपयोग गर्दै पार्टीको वडा अधिवेशनमा प्रहरी दमन गरेको भन्दै पौडेल पक्ष रुष्ट भएको छ ।
पौडेल पक्षका एक नेताका अनुसार पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति बाँडफाँटमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटीपनको विषयमा छलफल हुँदैछ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने ती नेताले बताए । ‘सरकारले पूर्णता पाएको छैन, पूर्णता दिन पार्टीमा छलफल छैन,’ उनले भने, ‘ओलीलाई तानाशाह भनेर हटाइयो, आज हाम्रो सरकार पनि त्यसै बन्छ कि भन्ने डरले छलफलमा जुटेका हौं ।’
यसअघि आईतवार पनि सोही पक्षका शीर्ष नेताहरूबीच छलफल भएको थियो । पौडेल निवासमा भएको छलफलमा आफूनिकट केन्द्रीय सदस्यहरूसँग परामर्श गरेर मात्र भावी कदम चाल्ने सहमति भएको थियो । सहमति बमोजिम बैठक आज बस्न लागेको छ ।
बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संशोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी रहेको छ । ‘अब अधिवेशन गर्न पनि राज्यशक्ति र प्रहरी दमन सभापतिबाट सुरू भयो, यसले हामीभित्र डर पैदा गरेको छ,’ ती नेताले भने, ‘२० जिल्लामा पनि यसरी अधिवेशन भयो भने हामी के गर्ने, साथीहरूको राय लिएर अघि बढ्छौं ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।