काठमाडौं, २३ भदौ- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जवाफ मागेको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेवित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए ।
भट्टराईले प्रश्न गरे, 'सभामुखज्यू, एमालेले कारबाही गरेका सांसदको पद जोगाउन र एमाले पार्टी फुटाउन किन मतियार बन्नुभयो । यसको जवाफ चाहन्छौं ।' भट्टराईले दल विभाजनका लागि नामै नभएका ६ जना र कारबाही गरेका १० सांसदलाई समेटेर नयाँ पार्टी बनाएको भन्दै निर्वाचन आयोगमाथि पनि आक्रोश पोखे । 'नियम कानूनविपरीत प्रतिपक्षलाई तल पार्न, हेप्न खोज्छ भने एमाले चुप लागेर बस्दैन । जवाफ नपाएसम्म संसद चल्न दिँदैनौं ।'
सभामुखले म जवाफ दिन तयार छु भन्दै बोले । उनले माधव नेपालसहित १४ सांसदको कारबाही सिफारिसबारे प्रचलित कानुनका आधारमा निर्णय लिएको बताए ।
थप जवाफ दिन अदालतले रोक्ने बताए । 'कारबाही निर्णयको विषय हाल अदालतमा विचाराधीन छ । अदालतमा भएको कुरा बोल्न बन्देज छ,' सापकोटाले भने ।
सभामुखको यो जवाफमा एमालेले चित्त बुझाएनन् । सांसदहरु रोस्टमतिर अघि बढेर नाराबाजी गर्न थाले । सभामुखले ध्यानाकर्षण गराउँदा पनि नाराबाजी नरोकिएपछि १५ मिनेटका लागि बैठक स्थगित गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।